कांग्रेस प्रतिपक्षमा रहेर रचनात्मक भूमिका खेल्छ : जनकराज गिरी

सन्तोषी रावल
१२ चैत २०८२ ११:१४
44
Shares

काठमाडौं। बाजुरा जिल्लाबाट नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित जनकराज गिरीले वर्तमान राजनीतिक परिस्थितिमा प्रतिपक्षको भूमिका प्रभावकारी र जिम्मेवार ढंगले निर्वाह गर्ने बताएका छन्।

नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा उनले संसदमा आफ्नो भूमिका, कांग्रेस भित्रका चुनौती र समसामयिक राजनीतिक अवस्थाबारे आफ्नो धारणा राखेका छन्। गिरीले निर्वाचनपछि आफू मतदातालाई धन्यवाद दिने कार्यक्रममै व्यस्त रहेको उल्लेख गर्दै शपथग्रहणपछि पुनः जनतामाझ जाने तयारीमा रहेको बताए। अहिले ‘काठमाडौंमा पार्टीको केन्द्रीय समिति बैठक, संसदीय दलको नेतृत्व चयनलगायतका गतिविधिमा व्यस्त छौँ,’ उनले भने।

उनका अनुसार लोकतन्त्रमा सत्ता र प्रतिपक्ष दुवै भूमिका महत्वपूर्ण हुन्छन्। कांग्रेसको विगतको अनुभव उल्लेख गर्दै उनले कहिले सत्तामा, कहिले प्रतिपक्षमा रहँदै आएको इतिहास स्मरण गरे। ‘प्रतिपक्ष भनेको ‘वेटिङ गभर्मेन्ट’ हो। सरकारका राम्रा काममा सहयोग गर्ने र गलत बाटोमा गए सचेत गराउने हाम्रो दायित्व हो,’उनले स्पष्ट पारे।

हाल राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार गठनको सन्दर्भमा गिरीले नयाँ दलले जनतामा ठूलो अपेक्षा सिर्जना गरेको बताए। सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र विकासका मुद्दामा सरकार सफल हुनुपर्नेमा उनले जोड दिए। ‘सरकारले राम्रा काम गरे हामी पूर्ण सहयोग गर्छौँ, तर संविधान, राष्ट्रियता र सार्वभौमिकतामा आँच आउने काम भए कडा रूपमा विरोध गर्छौं,’ उनले भने।

उनले पछिल्लो समयको जनआन्दोलन र युवाहरूको असन्तुष्टिले नयाँ राजनीतिक शक्तिहरूलाई अवसर दिएको विश्लेषण गरे। पुराना दलहरूको कमजोरी स्वीकार गर्दै उनले भने,‘हामीले विगतमा सुशासन, सेवा प्रवाह र रोजगारी सिर्जनामा अपेक्षित काम गर्न सकेनौँ। ती कमजोरी सच्याउँदै अगाडि बढ्नुपर्छ।’

गिरीले दैनिक हजारौँ युवाहरू वैदेशिक रोजगारीका लागि विदेशिनु ठूलो चुनौती भएको उल्लेख गर्दै मुलुकभित्रै अवसर सिर्जना गर्न आवश्यक रहेको बताए। साथै, भ्रष्टाचार नियन्त्रण र पारदर्शिता कायम गर्न राजनीतिक दलहरू जिम्मेवार हुनुपर्ने उनको धारणा छ।

कांग्रेसभित्रको आन्तरिक अवस्थाबारे बोल्दै गिरीले विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व आएको र त्यसलाई वैधानिक मान्यता प्राप्त भइसकेको बताए। गगन कुमार थापा नेतृत्वलाई बहुमत प्रतिनिधिको समर्थन रहेको उल्लेख गर्दै उनले केही असन्तुष्टि भए पनि आगामी नियमित महाधिवेशनमार्फत पार्टी एकताबद्ध हुने विश्वास व्यक्त गरे।

उनले सामाजिक सञ्जाल नियन्त्रणका विषयमा पनि सन्तुलित दृष्टिकोण आवश्यक रहेको बताए । ‘नियमन आवश्यक छ, तर पूर्ण बन्द गर्नु उचित हुँदैन,’ उनले भने। गिरीले प्रतिपक्षमा रहेपनि जनताका मुद्दामा सशक्त आवाज उठाउने प्रतिबद्धता जनाएका छन्। ‘सरकारमा नहुँदैमा जनताका समस्या बेवास्ता हुँदैनन्। राष्ट्रिय हित र जनजीविकाका सवालमा कांग्रेस सँधै अग्रसर रहनेछ,’उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *