शपथ ग्रहण अघि के भने नवनिर्वाचित सांसदहरुले ?
काठमाडौं। प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरू शपथ ग्रहणका लागि सिंहदरबारस्थित संसद् भवन परिसरमा उपस्थित भइरहँदा विभिन्न दलका सांसदहरूले आफ्ना प्राथमिकता र प्रतिबद्धता सार्वजनिक गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसद केपी खनालले सञ्चारकर्मीसँग कुरा गर्दै सुशासनका तीन आधार स्तम्भ पारदर्शिता, इमान्दारिता र जवाफदेहिताबाटै परिणाम आउने गरि काम गर्ने बताएका छन्।
उनले भने, ‘पारदर्शी, इमान्दारिता, जवाफदेहिता-यी नै बीचमा सबै कुरा हुन्छन्। यी तीन कुराबाट डेलिभरी हुन्छन्।’
यस्तै, रास्वपाका अर्का सांसद रमेश प्रसाइँले जनताको अपेक्षा अत्यन्त सामान्य रहेको उल्लेख गर्दै आधारभूत सेवा सहज बनाउनुपर्नेमा जोड दिए।
उनले भने, ‘जनताले धेरै ठूलो कुरा मागेका छैनन्। अस्पतालमा बेड पाउन सोर्स-फोर्स लगाउन नपरोस्, सरकारी कार्यालयमा सामान्य काम गराउन घण्टौं, हप्तौं लाइन बस्न नपरोस्। विपद् पर्दा सरकार भएको अनुभूति होस्, राज्यले अभिभावकीय भूमिका निभाओस् भन्ने हो।’
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहले सकारात्मक र रचनात्मक भूमिकामा रहने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले भने, ‘अहिले हामी सकारात्मक काममा, राम्रा काममा साथ र सहयोग गरेर अगाडि बढ्ने छौं । देश र जनताको हितमा काम गर्ने पक्षमा हुन्छौं।’







डिसी नेपाल







Facebook Comment