२७ दिनपछि इनिशाको शव बुझ्न परिवार सहमत, आज दाहसंस्कार गरिँदै

डिसी नेपाल
१९ चैत २०८२ १२:१६
280
Shares

सुर्खेत। सुर्खेतकी १६ बर्षीया इनिशा बिकको आज दाहसंस्कार गरिने भएको छ। गत फागुन २३ गते वीरेन्द्रनगरको सामुदायिक वनमा मृत भेटिएका इनिशा बिकको २७ दिनपछि दाहसंस्कार गर्न लागिएको हो।

सामूहिक बलात्कारपछि हत्या भएको भन्दै परिवारले इनिशाको शव नबुझ्ने अडान लिएका थिए। घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरी अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि परिवारले शव बुझ्ने भएका हुन्।

इनिशाको आज भेरी नदीको सम्झिघाटमा दाहसंस्कार गरिने परिवारले जनाएका छन्। दुई साता लामो अनुसन्धान पछि प्रहरीले गत साता सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो।

आइतबार सरकारी वकिल कार्यालयले सुर्खेत जिल्ला अदालतमा दायर गरेको अभियोग पत्रमा मंगलबार भएको थुकछेक बहस पछि घटनामा संलग्नलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

सुर्खेत जिल्ला अदालतका बाल इजलासका न्यायाधीश दीपक ढकालको इजलाशले आरोपित चारै जनालाई थुनामा राख्न आदेश दिएको थियो। अदालतको आदेशअनुसार उनीहरूलाई बालसुधार गृहमा पठाइने भएको छ।

अदालतका सूचना अधिकारी उज्वल रावलकाअनुसार घटनाको गम्भीरता र प्रारम्भिक प्रमाणका आधारमा अनुसन्धान पूरा नहुँदासम्म थुनामै राखेर मुद्दा अघि बढाउने आदेश गरिएको हो।

सोमबारदेखि बाल इजलासमा सुनुवाई भई रहेको उक्त मुद्दामा मंगलबारको थुनछेक बहसपछि अदालतले यस्तो आदेश दिएको हो। इनिशाको मृत्युपछि वीरेन्द्रनगरमा दुर्बैपक्षबीच प्रदर्शन हुँदै आएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *