हेटौंडा-१८ मा अवैध संरचना हटाइयो, करिब १० छाप्रा भत्काइयो
हेटौँडा। हेटौँडा उपमहानगरपालिका–१८ स्थित हर्नामाडीबाट छतिवन जाने सडकखण्डमा रहेका अवैध संरचना स्थानीय प्रशासनले हटाएको छ।
मकवानपुर जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, डिभिजन वन कार्यालय मकवानपुर तथा उपमहानगरपालिकाको संयुक्त टोलीले स्याउली बजार क्षेत्रमा डोजर प्रयोग गरी करिब १० वटा छाप्रा भत्काएको हो। उक्त स्थानमा अवैध रूपमा व्यापार सञ्चालन भइरहेको पाइएको थियो।
अनुगमनका क्रममा सरकारी तथा सार्वजनिक क्षेत्र अतिक्रमण गरी बनाइएका संरचना हटाइएको जनाइएको छ। सम्बन्धित निकायले यसअघि नै उक्त स्थान खाली गर्न चेतावनी दिएको भए पनि अटेर गरेपछि डोजर प्रयोग गरी संरचना हटाइएको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार सोही क्षेत्रमा यसअघि अवैध रूपमा उत्पादन तथा संकलन गरिएको मदिरा समेत नियन्त्रणमा लिई नष्ट गरिएको थियो।
स्थानीय प्रशासनले सार्वजनिक जग्गा अतिक्रमण तथा अवैध व्यापार नियन्त्रणका लागि यस्ता अभियानलाई निरन्तरता दिने जनाएको छ।







डिसी नेपाल







Facebook Comment