कविता: भट्टीका भित्ताहरू
भट्टीका भित्ताहरू
आगोको रापले पोलिएका छन्
धुँवाले लपक्क पोतिएका छन्
हरेक भट्टीका भित्ताहरू
यसैमा जीवनका कथाहरू
अठेस मठेस भएर पोखिएका छन्।
भट्टीका भित्ताहरू
मानौं यथार्थ सुन्ने यन्त्र हो
सुख दुःख सबै सुनिदिन्छ
कतै नसुनेको जीवन्तता
यसैमा कथै कथाहरूको
ब्यथै ब्यथाको जीवन छ।
भट्टीका भित्ताहरूमा
कहिले बच्चाहरूको झैं हासो गुन्जन्छ
कहिले बेदनाका स्वरहरू गुन्जन्छन्
एकनास जीवित स्वभावहरू
उलठपुलठ भएर पोखिन्छन्
भित्ताहरू जटत्वमा सुनिरहन्छ।
भट्टीका भित्ताहरूमा
नलेखिएका कैयौं प्रेमका कथाहरू छन्
कतै सुनाँउन नसकिएका शब्दहरू छन्
गरिवीको गीतहरू छन धनको उन्माद छ
कुन्नि भित्ताहरूमा अटल शान्ति छ
जीवनका प्रसस्त कथाहरू पोखिएका छन्।
भट्टीका भित्ताहरू
मानौ शान्त स्रोता हो सुनिदिन्छ प्रतिकृया दिँदैन
जीवित शैलीका प्रबृत्तिहरूको यथार्थतामा
जीवनका कथाहरू सुन्ने असल स्रोता हो
कथाहरू चाहे सत्य होस् वा असत्य होस्
भित्ताहरू फगत आवाजहरू राखिदिन्छन्।















Facebook Comment