नेविसंघका कार्यकर्तालाई छोड्न कांग्रेसको माग
काठमाडौं । सिंहदरबारभित्र सरकारविरुद्ध नाराबाजी गर्ने क्रममा पक्राउ परेका नेपाल विद्यार्थी संघ (नेविसंघ)का कार्यकर्ताहरूलाई रिहा गर्न कांग्रेसले माग गरेको छ।
कांग्रेस प्रवक्ता देवराज चालिसेले एक वक्तव्य जारी गर्दै मंगलबार पक्राउ परेका नेविसंघका नेताहरू भुवन भट्ट, कुम्भराज देउवा, नविन विष्ट, आकाश देवकोटा, शुशील ऐडी र विशाल विसीलाई रिहा गर्न माग गरेका छन्। उनले नेविसंघ कार्यकर्ता पक्राउ गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको समेत बताएका छन्।
लोकतान्त्रिक शासन व्यवस्थामा वाक तथा प्रकाशनको स्वतन्त्रता, शान्तिपूर्ण रूपमा हिँडडुल गर्ने अधिकार तथा विरोध वा असहमति व्यक्त गर्ने स्वतन्त्रता नागरिकका मौलिक अधिकार भएको कांग्रेसको ठहर छ।
‘यस्ता अधिकारहरूको प्रयोगका क्रममा नागरिकलाई पक्राउ गरी थुनामा राख्ने कार्यले लोकतन्त्रको आधारभूत मूल्य, विधिको शासन तथा नागरिक स्वतन्त्रताको प्रत्याभूतिमाथि गम्भीर प्रश्न खडा गर्दछ। असहमतिलाई नियन्त्रण गर्ने र दमन गर्ने सरकारको यस्तो शैली लोकतान्त्रिक मान्यता एवं संविधानको मर्म विपरीत छ,’ कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

No ads found for this position

डिसी नेपाल
Facebook Comment