सुकुम्बासी बस्ती हटाएर खाली गराइएको सार्वजनिक जग्गा संरक्षणको काम सुरु गर्न सुनिता डंगोलको निर्देशन

डिसी नेपाल
१४ वैशाख २०८३ १२:१७

काठमाडौं। काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले सुकुम्बासी बस्ती हटाएर खाली गराइएको सार्वजनिक जग्गाको संरक्षणका लागि काम थाल्न निर्देशन दिएकी छन्।

थापाथलीस्थित वागमती नदी किनारामा शनिबार खाली गराइएको स्थानको निरीक्षण गर्दै उनले आइतबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई अहिले तथा यसपछि खाली गराइने ठाउँहरुको सुरक्षा र संरक्षणका लागि तारबार लगाउन अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिलगायत सरोकारवाला कार्यालयसँग समन्वय गर्न र सार्वजनिक निर्माण विभागबाट तारबार लगाउने काम थाल्न निर्देशन दिएका हुन्।

आइतबार कार्यवाहक प्रमुख डंगोलले नागार्जुनको इचङ्गुस्थित कोलोनीको भौतिक अवस्थाको निरीक्षण गरेका थिए। अव्यवस्थित बस्तीका वास्तविक भूमिहीनलाई यी भवनहरुमा राख्ने योजना छ।

नदी किनाराका सार्वजनिक तथा सरकारी पर्ती जग्गामा अनधिकृत संरचना बनाएर राखिएका वस्ती खाली गराउने क्रममा वागमती नदी खण्डको थापाथली क्षेत्रको वस्ती बैशाख १२ गते खाली गराइ सकिएको छ । यसका लागि महानगरपालिकाभित्र भएका अनधिकृत वस्ती बसोबास गरिरहेका व्यक्ति आफैँलाई खाली गराउन विहीबारदेखि माइकिङ गरेर सूचित गरिएको थियो।

यसरी जारी गरिएको सूचनाको पालना गर्दै शुक्रबार केही परिवारले आफैँ घर टहरा खाली गराए। यसरी आफैँ घरटहरा खाली गराउने क्रम शनिवार विहानसम्म पनि जारी थियो। यो अवस्था देखेपछि स्थानीय प्रशासनले विहान ६ बजेदेखि घरटहरा भत्काउने कार्यक्रम पछि सारेर आफैँ खाली गर्ने अवसर प्रदान गरेको थियो।

करिब ८ बजेबाट संरचना हटाउन थालिएको थियो। वडा नं. ११ का अध्यक्ष एवं महानगरपालिकाको भवन व्यवस्था समितिका संयोजक हीरालाल तण्डुकारका अनुसार वडाभित्र थापाथली र वंशीघाट गरेर ३३२ वटा घरटहरा थिए। यसमध्ये थापाथलीतर्फका १३६ घरटहरा भत्काइएका छन्।

यस ठाउँबाट सरेर अन्यत्र जानेहरुलाई महानगर प्रहरी बलले सवारी साधन र जनशक्ति परिचालन गरेर घरबाट बाहिर सामान निकाल्न र बाहिर निकालिएका सामान उनहरुले भनेका ठाउँमा ओसार्न सहयोग गरेको थियो। यो प्रसुति गृह पछाडितर्फको भाग हो। वंशीघाट विश्व निकेतन विद्यालय पछाडि पर्छ। यहाँ १९६ घरटहरा छन्।

बागमती नदी खण्डको सिनामंगलदेखि वानेश्वर क्याम्पससम्म रहेको अव्यवस्थित बस्ती अन्तर्गत वडा नं. ९ तर्फ १६२ घरधुरी र वडा नं. ३१ तर्फ दीर्घशान्ति टोल (जागृतिनगर) मा ४७६ घरटहरा थिए।

यीमध्ये वैशाख १२ गते वडा नं. ९ तर्फका घरटहरा खाली गराइयो। वडा नं. ३१ तर्फ यस दिन राती ९ बजेसम्म भत्काउँदा केही भागको मात्र काम सकिएको थियो। १३ आइतबार गते बिहान मनोहरा क्षेत्रमा जनशक्ति, स्रोत साधन केन्द्रीत गरिएको थियो।

महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीका अनुसार मनोहरा क्षेत्रका अव्यवस्थित बस्ती भत्काउने क्रमसँग मध्यान्नबाट स्रोत साधन बाँडेर दिउँसो १ बजेदेखि वडा नं. ३१ जागृतिनगरका घरटहरा भत्काउन थालिएको थियो।

आज जागृतिनगरसँगै मनोहरा नदी खण्डमा काठमाडौँ र मध्यपुर थिमितर्फ दुवैतर्फ काम भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *