कांग्रेस प्रतिनिधिसभा संसदीय दलको नेतामा आङ्देम्बे निर्विरोध निर्वाचित

डिसी नेपाल
१४ वैशाख २०८३ १५:३३

काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन भएका छन्। पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भीष्मराज आङ्देम्बेलाई सर्वसम्मत चयन गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता देवराज चालिसेले बताए।

उनले भने, ‘सबैको प्रतिक्षाको विषय नेपाली कांग्रेस संसदीय दलको नेताका सन्दर्भमा धेरै चासो, धेरै प्रश्नहरु उठेकाले स्पष्टता गर्न जरुरी थियो। विशेष गरेर नेपाली कांग्रेसको अहिलेको संसदीय संरचनामा उपस्थितीमा दलको जुन विधान थियो त्यो विधानलाई समयसापेक्ष केही परिवर्तन गर्नुपर्ने आवश्यकता भएको हुनाले केही दिन ढिलाई हुन गएको हो। लोकतान्त्रिक पार्टीको चुनावमा सर्वसम्मति गर्नु पनि एउटा निर्वाचनकै एउटा अंग हो। यसअन्तरगत पार्टीले ३८ जना सबै योग्य साथिहरुमध्येबाट कसलाई संसदीय दलको नेता बनाउने भन्ने सन्दर्भमा पार्टीको केन्द्रको तर्फबाट सर्वसम्मतको प्रयास बमोजिम पार्टीले भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेतामा प्रस्ताव गर्ने निर्णय गरेका छौं।’

यसैगरी कांग्रेसले संसद् छलेर अध्यादेश ल्याउने कुरा उपयुक्त नहुने जनाएको छ। एकातिर संसद् बोलाएको संसद् स्थगित गर्ने, अर्कोतर्फ संसद्लाई छलेर अध्यादेशहरू ल्याउने कदम लोकतन्त्रको लागि मर्यादित नभएको कांग्रेसको भनाई छ।

उनले भने, ‘सरकारले प्रस्ताव गरेर संसद्को अधिवेशन बोलाइसकेपछि अकारण फेरि संसद् पुनः स्थापित भएको हामीले समाचार पायौँ। एकातिर संसद् बोलाएको संसद् स्थगित गर्ने, अर्कोतर्फ संसद्लाई छलेर अध्यादेशहरू ल्याउन कदम लोकतन्त्रको लागि मर्यादित होइन। त्यो अनुकूलता त्यसले प्रदान गर्दैन, जवाफदेहिता स्थापित गर्दैन।’

वि.सं. २०६४ पछि पहिलोपटक कांग्रेस संसदीय दलको नेता सर्वसम्मत रुपमा निर्वाचित भएका हुन्।

समानुपातिक सांसदका रूपमा रहेका आङ्देम्बे पार्टीको १४औं महाधिवेशनमा सहमहामन्त्रीमा निर्वाचित भएका थिए। उनले लामो समयदेखि पार्टीभित्रको राजनीतिक सन्तुलन मिलाउन र मझधारको भूमिका निर्वाह गर्दै आएका थिए।

सभापति थापाको कार्यशैली र दृष्टिकोणमा स्पष्ट समर्थन जनाउँदै आएका आङ्देम्बेले अब संसद्मा कांग्रेसको संसदीय मोर्चाको नेतृत्व गर्ने जिम्मेवारी पाएका छन्। २०७० सालको संविधानसभा निर्वाचनमा पाँचथर-२ बाट निर्वाचित भई संसदीय अनुभव बटुलिसकेका उनी अबको बदलिँदो राजनीतिक परिस्थितिमा कस्तो भूमिका खेल्छन्, त्यो भने हेर्न बाँकी नै छ।

सहमतिमा उनको नाम टुंगो लागेकाले यसलाई कांग्रेसभित्रको गुटगत राजनीति अन्त्य गर्ने प्रयासका रूपमा पनि लिइएको छ। यस चयनले अब संसद्मा नेपाली कांग्रेसको प्रभावकारी उपस्थिति रहने र सरकारसँगका कतिपय पेचिला विषयहरूमा उनले कस्तो नेतृत्व प्रदान गर्छन् भन्ने चासो सबैतिर बढेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *