लिपुलेकमा नेपालको ऐतिहासिक दाबी, भारतद्वारा अस्वीकार
काठमाडौं। नेपाली भूमि लिपुलेक हुँदै सञ्चालन गर्न लागिएको कैलाश मानसरोवर यात्राको विषयलाई लिएर नेपाल र भारतबीच कूटनीतिकस्तरमा भनाभन सुरु भएको छ।
नेपालको परराष्ट्र मन्त्रालयले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको अभिन्न भू–भाग भएको स्पष्ट पार्दै उक्त क्षेत्रमा हुने कुनै पनि गतिविधिका बारेमा भारत र चीन दुवैलाई आफ्नो कूटनीतिक अडान पुनः जानकारी गराएको छ।
१८१६ को सुगौली सन्धिअनुसार महाकाली नदीपूर्वका यी क्षेत्रहरू नेपालको हकभोगमा पर्ने भएकाले त्यहाँ सडक निर्माण, सीमा व्यापार वा तीर्थाटनजस्ता गतिविधि नगर्न नेपालले भारत सरकारलाई निरन्तर आग्रह गर्दै आएको छ।

साथै, यो विषयमा नेपाल सरकारले चीन सरकारलाई समेत आधिकारिक रूपमा जानकारी गराइसकेको र सीमा समस्याको समाधान ऐतिहासिक तथ्य, नक्सा र प्रमाणका आधारमा कूटनीतिक संवादमार्फत गर्न नेपाल सधैं प्रतिबद्ध रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ताले स्पष्ट पारेका छन्।
नेपालको यस अडानको प्रतिवाद गर्दै भारत सरकारले भने लिपुलेक पासलाई कैलाश मानसरोवर यात्राको ऐतिहासिक र स्थापित मार्गका रूपमा दाबी गरेको छ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले आइतबार नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपालले राखेका सीमासम्बन्धी दाबीहरूलाई अस्वीकार गरेका छन्। सन् १९५४ देखि नै लिपुलेक पास मानसरोवर यात्राका लागि प्रयोग भइरहेको उल्लेख गर्दै भारतले यसलाई कुनै नयाँ विकासक्रम नभएको जिकिर गरेको छ।

भारतका अनुसार नेपालले नक्सा र क्षेत्रीय दाबीहरूमा गरेको एकपक्षीय र कृत्रिम विस्तार न्यायोचित छैन र यो ऐतिहासिक तथ्यमा आधारित पनि छैन । भारतले नेपालका दाबीहरू टिकाउ हुन नसक्ने भन्दै ती तर्कहरूलाई पूर्ण रूपमा खारेज गरेको छ।
यसरी दुवै मुलुकले आ-आफ्नो अडानमा अडिग रहेको बताए पनि कूटनीतिक संवादको ढोका भने खुला राखेका छन्।
नेपालले मैत्रीपूर्ण सम्बन्धलाई ध्यानमा राख्दै वार्तामार्फत निकास खोज्नुपर्नेमा जोड दिएको छ भने भारतले पनि नेपालसँगका सबै द्विपक्षीय विषय र सहमति हुन बाँकी सीमा विवादहरूलाई रचनात्मक कुराकानी र कूटनीतिक माध्यमबाट समाधान गर्न आफू तयार रहेको उल्लेख गरेको छ।
पछिल्लो समय लिपुलेकलाई लिएर देखिएको यो कूटनीतिक टकरावले दुई देशबीचको सीमा विवादलाई पुन: चर्चाको केन्द्रमा ल्याएको छ, जसलाई समाधान गर्न दुवै पक्षले ऐतिहासिक दस्ताबेज र आपसी विश्वासका आधारमा ठोस संवाद गर्नु आवश्यक देखिएको छ।







डिसी नेपाल







Facebook Comment