अस्पतालहरूमा स्वास्थ्य मन्त्रालयको अनुगमन, शासकीय सुधार कार्य योजना कार्यान्वयनमा जोड

डिसी नेपाल
२१ वैशाख २०८३ १८:५०

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शासकीय सुधार सम्बन्धी एक सय कार्य योजनाहरूको कार्यान्वयनमा तीव्रता दिएको छ।

शासकीय सुधार कार्य योजना अनुरूप मन्त्रालयले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै स्वास्थ्य संस्थाहरूमा अनुगमन अघि बढाएको छ।

सोमबार मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले महाशाखा प्रमुख डा. रोशन न्यौपानेको नेतृत्वमा काठमाडौंको महाराजगन्जस्थित कान्ति बाल अस्पतालको अनुगमन गर्दै आवश्यक सुधारका लागि पत्राचार गरेको छ।

मन्त्रालयले अस्पताललाई ओपिडी, इमर्जेन्सी, फार्मेसी, रेडियोलोजिकल विभाग लगायत अन्य सेवामा समेत प्रतीक्षा समय घटाउन भनेको छ।

त्यसै गरी, बिरामीसँग सम्मानजनक र मैत्रीपूर्ण व्यवहार गर्न, आकस्मिक अवस्थामा पर्याप्त कर्मचारी खटाउने व्यवस्था गर्न, सरसफाइ र सुरक्षा व्यवस्थापनमा सुधार गर्न मन्त्रालयले अस्पताललाई निर्देशन दिएको छ।

कर्मचारीको नियमित उपस्थिति कडाइका साथ पालना गराउन निर्देशन दिएको मन्त्रालयले अस्पतालका उपकरणहरू चुस्त दुरुस्त राख्न समेत भनेको छ। मन्त्रालयले अस्पताललाई पत्रमार्फत अस्पतालको ओपिडी समयमा ‘एमआर’हरूलाई प्रवेशमा रोक लगाउन समेत निर्देशन दिएको छ।

मन्त्रालयले यस अघि भेरी अस्पताल, नारायणी अस्पताल, बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान र गजेन्द्रनारायण सिंह अस्पतालको अनुगमन गरिसकेको छ।

सरकारको ‘शासकीय सुधार सम्बन्धी एक सय कार्य योजना’को सूची ८५ को ‘क’ देखि ‘ङ’ सम्म स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सँग सम्बन्धित विषय समावेश छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *