नेपालको शिक्षा क्षेत्रमा लगानी बढाउन नर्वे उत्सुक

डिसी नेपाल
२२ वैशाख २०८३ ७:१७

काठमाडाैं। नेपालको विद्यालय शिक्षा र प्रविधिको विकासमा नर्वे सरकारले आफ्नो सहयोग र साझेदारीलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल र नेपालका लागि नर्वेका राजदूत डागनी म्योसबीच सोमबार सिंहदरबारस्थित मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा दुई देशबीचको शैक्षिक सहकार्यका विविध आयामबारे गहन छलफल भएको हो।

भेटका क्रममा विशेष गरी नेपालको विद्यालय शिक्षा क्षेत्रमा नर्वेले पुर्‍याउँदै आएको प्राविधिक तथा आर्थिक सहयोगको निरन्तरता र भविष्यमा गरिने नयाँ साझेदारीका विषयमा कुराकानी केन्द्रित थियो।

मन्त्री पोखरेलले नेपालको शिक्षामा समावेशिता, समतामूलक पहुँच, आधारभूत सिकाई (फन्डामेन्टल लर्निङ) र जलवायु अनुकूलित शिक्षा प्रणाली (क्लाइमेट स्मार्ट एजुकेशन सिस्टम) निर्माणमा नर्वेले पुर्‍याएको योगदानको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे।

नर्वेको उत्कृष्ट शिक्षा प्रणाली र आधुनिक प्रविधि नेपालका लागि अनुकरणीय रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले त्यस्तो प्रविधि भित्र्याउन मन्त्रालय इच्छुक रहेको बताए।

नर्वेली राजदूत डागनी म्योसले नेपाल सरकारले अघि सारेको १०० बुँदे प्राथमिकताका योजनाहरूमा शिक्षा क्षेत्रले पाएको महत्त्वको प्रशंसा गरिन् उनले नेपालको विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि नर्वे सरकारले प्रदान गर्दै आएको सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने स्पष्ट पारिन्। राजदूत म्योसले नेपालको शैक्षिक रूपान्तरणमा नयाँ क्षेत्रहरू पहिचान गरी सहकार्य बढाउन नर्वे उत्सुक रहेको धारणा राखिन्।

भेटवार्तामा शिक्षाका अतिरिक्त विज्ञान, प्रविधि र खेलकुद क्षेत्रमा समेत नर्वेली अनुभव र सहयोग आदानप्रदान गर्ने विषयमा प्रारम्भिक छलफल भएको मन्त्रालयले जनाएको छ। यस भेटले दुई देशबीचको दशकौँ लामो मैत्रीपूर्ण सम्बन्ध र शैक्षिक साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास लिइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *