सरकारद्वारा वैशाख २८ गतेका लागि संसद् अधिवेशन आह्वान गर्न सिफारिस

डिसी नेपाल
२२ वैशाख २०८३ १६:१७

काठमाडाैं। सरकारले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी वैशाख २८ गते दिउँसो २ बजे बैठक बस्ने गरी अधिवेशन आह्वानका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठकको निर्णयबारे जानकारी दिँदै संसद्को बजेट अधिवेशनका लागि यो सिफारिस गरिएको बताए।

यसअघि पनि सरकारकै सिफारिसमा राष्ट्रपति पौडेलले वैशाख १७ गतेका लागि अधिवेशन आह्वान गरेका थिए। तर, आह्वान भएको भोलिपल्टै सरकारले रणनीतिक रूपमा उक्त अधिवेशन स्थगित गर्न सिफारिस गरेको थियो।

संसद् नचलेको सोही अन्तरालमा सरकारले संवैधानिक परिषद्सम्बन्धी विवादास्पद अध्यादेशसहित विभिन्न ८ वटा अध्यादेशहरू जारी गर्ने प्रक्रिया अघि बढाएको थियो।

विशेषगरी, राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलाई सरकारले सोमबारको मन्त्रिपरिषद् बैठकबाट पुनः जस्ताको तस्तै पठाउने निर्णय गरेको थियो। मंगलबार दिउँसो राष्ट्रपति पौडेलले उक्त अध्यादेश जारी गर्नासाथ सरकारले संसद् अधिवेशनको मिति तय गरेको हो।

अध्यादेश जारी भएलगत्तै मन्त्रिपरिषद् बैठक बसेर संसद्को नयाँ अधिवेशन आह्वानका लागि सिफारिस हुनुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। अब वैशाख २८ गतेदेखि सुरु हुने अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *