सभापति थापा र डा. कोइरालाबीच ४५ मिनेट संवाद: विवाद पछिको कांग्रेस सुधार्ने योजनामा केन्द्रित

डिसी नेपाल
२२ वैशाख २०८३ १७:३३

काठमाडाैं। नेपाली कांग्रेसका सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच मंगलबार भेटवार्ता भएको छ। कोइरालाको विशालनगरस्थित सचिवालयमा भएको करिब ४५ मिनेट लामो उक्त भेटमा पार्टीको आन्तरिक जीवन र पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको हो।

भेटका क्रममा विशेष गरी पार्टीको आधिकारिकता सम्बन्धी विवाद कानुनी रूपमा टुङ्गिएपछि अबको सांगठनिक बाटो कसरी तय गर्ने भन्ने विषयमा कुराकानी केन्द्रित थियो।

कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाका अनुसार दुई नेताबीच पार्टीलाई एकढिक्का बनाएर लैजाने र आगामी चुनौतीहरूको सामना कसरी गर्ने भन्नेबारे विचार विमर्श भएको छ। यद्यपि, भेटमा भएका ठोस निष्कर्षहरूका बारेमा दुवै पक्षले विस्तृत जानकारी सार्वजनिक गरेका छैनन्।

पार्टीको आधिकारिकताको विषय छिनोफानो भएपछि सभापति थापाले आन्तरिक संवादलाई तीव्र पारेका छन्। यसअघि वैशाख ६ गते उनले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग पनि भेट गरी पार्टी सञ्चालनका विषयमा परामर्श गरेका थिए।

कांग्रेसभित्रको शक्ति सन्तुलनमा थापा र कोइरालाको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ, जसले आगामी महाधिवेशन र पार्टीको वैचारिक दिशामा प्रभाव पार्ने राजनीतिक विश्लेषकहरूको ठम्याइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *