जरिवानादेखि लाइसेन्स निलम्बनसम्म: ट्राफिक चेकजाँचमा सम्झौता नगर्ने प्रहरीको चेतावनी
काठमाडाैं। काठमाडौं उपत्यकामा बढ्दो सवारी चापसँगै दुर्घटनाका घटना नियन्त्रण गर्न ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ। उपत्यकाका मुख्य सडक, चोक तथा उपत्यका भित्रिने प्रमुख नाका नागढुंगालगायत क्षेत्रमा विशेष ट्राफिक चेकजाँच अभियान सञ्चालन गरिएको हो।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरणलाई प्राथमिकतामा राख्दै यात्रुवाहक तथा मालवाहक सवारीसाधनमाथि विशेष निगरानी बढाएको जनाएको छ। ट्राफिक नियम उल्लङ्घन गर्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने तथा प्राविधिक रूपमा कमजोर अवस्थाका सवारीसाधनलाई लक्षित गरी अभियान सञ्चालन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
यस अभियानमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी स्वयं सडकमा खटिएको जनाइएको छ। ट्राफिक प्रहरी प्रमुख अधिकारीले दिउँसोदेखि राति अबेरसम्म यहाँका विभिन्न स्थानमा पुगेर ट्राफिक व्यवस्थापन, चेकजाँच तथा चालकलाई सचेतनामूलक जानकारी दिने कार्य गरिरहेको ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।
सवारी दुर्घटना न्यूनीकरणका लागि चालक, सहचालक तथा यात्रु सबैको जिम्मेवारी आवश्यक रहेको ट्राफिक प्रहरी प्रमुख अधिकारीले बताए। आज दिउँसो काठमाडौं भित्रिने मुख्य नाका नागढुंगामा सवारी जाँचका क्रममा उनले सवारी चालकलाई ट्राफिक नियमको पालना गर्न आग्रह गर्दै यात्रुको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न निर्देशन दिए।
उनले भने, “सिट क्षमताभन्दा बढी यात्रु नबोक्न, सवारीसाधनको अवस्था नियमित परीक्षण गर्न, तीव्रगति नियन्त्रण गर्न तथा ट्राफिक नियमको पूर्ण पालना गर्न हामीले विशेष अभियान सञ्चालन गरेका छौं। दुर्घटना न्यूनीकरणका लागि म आफैँ पनि सडकमा खटिएर अनुगमन गरिरहेको छु। तपाईँहरू पनि ट्राफिक नियम पूर्ण रूपमा पालना गर्नुहोला।”
ट्राफिक प्रहरीले पछिल्लो समय उपत्यकामा हुने अधिकांश दुर्घटनाको मुख्य कारण तीव्रगति, लापरवाहीपूर्ण सवारी सञ्चालन, ओभरटेक, मोबाइल प्रयोग गरेर गाडी चलाउने तथा मापसे, लापसे गरेर सवारी चलाउने रहेको जनाएको छ। ती गतिविधि नियन्त्रण गर्न विशेष टोली परिचालन गरिएको ट्राफिक प्रहरी प्रमुख अधिकारीले बताए।
पछिल्लो समय नागढुंगा, कलंकी, कोटेश्वर, चाबहिल, जडीबुटी, बल्खु, महाराजगन्ज, नयाँ बसपार्कलगायत व्यस्त क्षेत्रमा ट्राफिक प्रहरीको उपस्थिति बढाइएको छ। लामो दूरीका सार्वजनिक सवारीसाधनको प्राविधिक अवस्था, चालकको स्वास्थ्य अवस्था तथा यात्रु क्षमताबारे समेत निगरानी थालिएको ट्राफिक प्रहरीले जनाएको छ।
उपत्यकामा पछिल्लो समय बढ्दो सवारी चापका कारण सडक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको अवस्थामा ट्राफिक प्रहरीले सडक अनुशासन कायम गर्न विभिन्न चेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ। विद्यालय, कलेज तथा सार्वजनिक स्थानमा ट्राफिक सचेतना अभियान सञ्चालन गरी नागरिकलाई नियम पालना गर्न आग्रह गरिएको छ।
ट्राफिक प्रहरीका अनुसार अभियानलाई आगामी दिनमा अझ प्रभावकारी बनाइनेछ। दुर्घटना न्यूनीकरणसँगै सुरक्षित र व्यवस्थित यातायात प्रणाली विकास गर्ने उद्देश्यले चेकजाँचलाई निरन्तरता दिइने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।







डिसी नेपाल







Facebook Comment