शान्तिको प्रयासमा धक्का: ट्रम्पको चेतावनीबीच अमेरिका-इरान सैन्य मुठभेड

डिसी नेपाल
२५ वैशाख २०८३ ९:५४

काठमाडौं। विश्वकै महत्त्वपूर्ण व्यापारिक जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’ (होर्मुज जलडमरूमध्य) मा अमेरिका र इरानबीच पुनः सैन्य मुठभेड सुरु भएको छ। केही समयअघि मात्रै युद्धविरामको संकेत देखिए पनि पछिल्लो २४ घण्टामा भएका शृंखलाबद्ध आक्रमणले पश्चिम एसियामा तनाव फेरि उत्कर्षमा पुर्‍याएको छ।

अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार ओमानको खाडीतर्फ अघि बढिरहेका अमेरिकी नौसेनाका जहाजहरूमाथि इरानी बलले मिसाइल, ड्रोन र साना सैन्य डुंगामार्फत अचानक आक्रमण गरेपछि जवाफी कारबाही गरिएको हो। अमेरिकाले यसलाई ‘आत्मरक्षाका लागि चालिएको कदम’ भनेको छ।

यता, इरानले भने अमेरिकाले नै पहिले आफ्नो तेल ट्यांकरमाथि आक्रमण गरेर युद्धविराम तोडेको दाबी गरेको छ। इरानी सरकारी सञ्चारमाध्यम आईआरआईबीका अनुसार इरानी नौसेनाले ‘शक्तिशाली विस्फोटक वारहेड’ प्रयोग गरी अमेरिकी जहाजहरूलाई ठूलो क्षति पुर्‍याएको र घुसपैठ गर्न खोज्ने जहाजहरूलाई लखेटेको दाबी गरेको छ।

तनावका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी पक्षसँग वार्ता भइरहेको र युद्धविराम पूर्ण रूपमा नटुंगिएको जिकिर गरेका छन्। बिहीबार साँझ ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने-“वार्ता सकारात्मक दिशामा अघि बढिरहेको छ । इरान परमाणु हतियार नराख्न सहमत भइसकेको छ, तर सम्झौतामा हस्ताक्षर हुन बाँकी छ । यदि उनीहरू पछि हटे भने त्यसको ठूलो मूल्य चुकाउनुपर्नेछ।”

ट्रम्पले इरानलाई सम्झौताको आवश्यकता बढी रहेको बताउँदै कडा चेतावनी समेत दिएका छन्।

अमेरिकाले समुद्री व्यापारिक मार्ग खुला राख्न ‘प्रोजेक्ट फ्रीडम’ अभियान सञ्चालन गरिरहेको छ। यसअन्तर्गत अमेरिकी डिस्ट्रोयरहरूले होर्मुज क्षेत्रमा गस्ती गरिरहेका छन्। अप्रिल ७ मा युद्धविरामको अपिल भए पनि दुवै देशबीच पटक-पटक झडप भइरहेका छन्।

गत महिनादेखि अमेरिकाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएपछि स्थिति थप बिग्रिएको हो। इरानको तेल निर्यात ठप्प पारी आर्थिक दबाब सिर्जना गर्ने अमेरिकी रणनीति र आफ्नो तटीय क्षेत्रको सुरक्षा गर्ने इरानी अडानले गर्दा युद्ध लम्बिएको देखिन्छ।

होर्मुज जलडमरूमध्य विश्वभर तेल र ग्यास ढुवानी हुने सबैभन्दा प्रमुख मार्ग हो। यस क्षेत्रमा हुने सानो झडपले पनि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य आकासिने गरेको छ। पछिल्लो आक्रमणका कारण तेलको आपूर्ति प्रभावित हुने र विश्व बजारमा इन्धनको मूल्य थप बढ्ने निश्चित देखिएको छ।

पाकिस्तानमा भएका उच्चस्तरीय वार्ताहरूले केही आशा जगाए पनि पछिल्लो सैन्य मुठभेडले शान्ति प्रक्रियालाई नै जोखिममा पारेको कूटनीतिक विश्लेषण गरिएको छ। अमेरिकाले आफू तनाव बढाउन नचाहेको तर ‘पूर्ण रूपमा तैनाथ’ रहेको बताएबाट स्थिति अझै अनिश्चित देखिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *