संसदमा प्रधानमन्त्री नआएपछि विपक्षीको हंगामा, हर्क साम्पाङद्वारा राजीनामा माग्दै बैठक बहिष्कार
काठमाडौं। प्रतिनिधिसभाको बुधबारको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहको अनुपस्थितिलाई लिएर तीव्र विरोध प्रदर्शन गरेका छन्।
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि भइरहेको महत्वपूर्ण छलफलमा प्रधानमन्त्री स्वयं उपस्थित नभएपछि विपक्षी सांसदहरूले आसनबाट उठेर बैठक अवरुद्ध पार्ने प्रयास गरेका हुन्।
छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने मुख्य कार्यसूची रहे पनि प्रधानमन्त्री संसद्मा नआउनुलाई विपक्षीले संसदीय मर्यादाको घोर उल्लंघन र गैरजिम्मेवारपनको संज्ञा दिएका छन्।
सोही क्रममा श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले प्रधानमन्त्रीको कडा आलोचना गर्दै राजीनामा माग गरेका छन्। प्रधानमन्त्रीले संसद्को उपेक्षा गरेको भन्दै उनी रोस्टममा उभिएर राजीनामाको माग गर्दै बैठकबाट बाहिरिएका छन्।
विपक्षी दल नेपाली कांग्रेसका सचेतक निस्कल राई लगायत अन्य सांसदहरूले पनि प्रधानमन्त्रीको निरन्तरको अनुपस्थितिप्रति आपत्ति जनाउँदै सभामुखको ध्यानाकर्षण गराएका छन्।
प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने तयारी गरेपछि विपक्षीहरू थप आक्रोशित बनेका हुन्। सरकार प्रमुख नै सदनमा उपस्थित नहुनुले लोकतान्त्रिक प्रणाली र संसदीय उत्तरदायित्वमाथि गम्भीर प्रश्न उठाएको विपक्षीहरूको ठहर छ।







डिसी नेपाल







Facebook Comment