सभामुख अर्याल र विपक्षी दलबीच सहमति जुट्न सकेन: भोलिको कार्यसूची अन्योलमा

डिसी नेपाल
३० वैशाख २०८३ १६:४२

काठमाडाैं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको निरन्तर अवरोधका कारण प्रतिनिधिसभाको दोस्रो बैठक पनि स्थगित भएको छ।

सदनमा प्रधानमन्त्रीको उपस्थिति र विभिन्न विषयमा उठेका प्रश्नको जवाफ माग गर्दै कांग्रेसले अवरोध गरेपछि सभामुख डीपी अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्। यसअघि पनि विपक्षी दलले सोही माग राखेर सदन चल्न नदिएपछि पहिलो बैठक स्थगित गरिएको थियो।

आजको बैठकमा प्रधानमन्त्री बालेन शाहले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने मुख्य कार्यसूची रहेको थियो।

प्रधानमन्त्रीले उक्त प्रस्ताव पेस गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई जिम्मेवारी तोकेको जानकारी गराउँदै सभामुखले उनलाई रोस्ट्रममा बोलाउनासाथ विपक्षी सांसदहरूले आसनबाट उठेर विरोध सुरु गरेका थिए। बैठक सञ्चालनका लागि सभामुखले प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरे पनि सदनको गतिरोध अन्त्य हुन सकेन।

छलफलपश्चात् अर्थमन्त्री वाग्लेले नीति तथा कार्यक्रममाथिको छलफलको प्रस्ताव पेस गरे पनि कांग्रेसले आफ्नो अडान कायम राख्दै विरोध जारी राख्यो। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्रीको जवाफका लागि सभामुखबाट रुलिङ हुनुपर्ने माग राखेका थिए।

जवाफमा सभामुख अर्यालले तत्काल रुलिङ नगर्ने स्पष्ट पार्दै आजै प्रधानमन्त्रीसँग छलफल तय भएको र सो संवादपछि मात्रै भोलिको कार्यसूचीबारे विपक्षीसँग पुनः परामर्श गर्ने जानकारी दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *