नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो महाधिवेशन जेठ १ र २ गते काठमाडौंमा हुने
काठमाडौं। नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो केन्द्रीय महाधिवेशन तथा पाँचौं साधारणसभा यही जेठ १ र २ गते काठमाडौंमा हुने भएको छ।
महासंघले बिहीबार पत्रकार सम्मेलन गर्दै देशभरका मोबाइल व्यवसायीको सहभागितामा यही जेठ १ र २ गते महाधिवेशन आयोजना गर्न लागिएको जनाएको हो।
महासंघका अनुसार हाल देशका सातै प्रदेश र ७० जिल्लामा शाखा विस्तार भइसकेको छ भने २७ हजार ४०० साधारण सदस्य आबद्ध रहेका छन्।
महाधिवेशनका लागि देशभरबाट करिब १५ सय प्रतिनिधि काठमाडौं आउने क्रममा रहेको महासंघले जनाएको छ।
सुदूरपश्चिम, कर्णालीदेखि पूर्वी क्षेत्रसम्मका प्रतिनिधिहरू काठमाडौं आउने क्रम जारी रहेको बताइएको छ। महाधिवेशनबाट ५५ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गरिनेछ। विधानअनुसार अध्यक्ष, निवर्तमान अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, सात उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, चार सचिवमध्ये एक महिला सहित तथा सहकोषाध्यक्ष पदमा निर्वाचन हुनेछ।
यस्तै, प्रत्येक प्रदेशबाट दुई जनाका दरले १४ केन्द्रीय सदस्य, १४ संस्थापक संस्थाबाट एक÷एक जना प्रतिनिधि, बागमती प्रदेशबाट थप पाँच जना तथा अध्यक्षबाट समावेशिताका आधारमा पाँच जना मनोनीत गर्ने व्यवस्था रहेको महासंघले जनाएको छ।
महाधिवेशनको उद्घाटन कार्यक्रम जेठ २ गते बिहान ९ बजे काठमाडौंस्थित राष्ट्रिय सभागृह मा हुनेछ। त्यसअघि जेठ १ गते कौशलटारस्थित ह्वाइट पार्टी प्यालेसमा बन्दसत्र सुरु हुने कार्यक्रम तय गरिएको छ।
महासंघले मोबाइल व्यवसायीका समस्या राज्यसमक्ष पुर्याउँदै देशको अर्थतन्त्र उकास्न सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरेको छ।







डिसी नेपाल







Facebook Comment