सीईओ ज्योति प्रकाश पाण्डेको रिटमाथि सर्वोच्चमा आज सुनुवाइ जारी

डिसी नेपाल
१ जेठ २०८३ ११:१८

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेघा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि आज सर्वोच्च अदालतमा महत्वपूर्ण सुनुवाइ भइरहेको छ।

न्यायाधीशद्वय शारंगा सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासमा यस मुद्दाको पेशी तोकिएको हो। यसअघि बिहीबार न्यायाधीश अजीज मुसलमानको एकल इजलासले यस विषयमा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई आज छलफलमा बोलाएको थियो।

आज दुवै पक्षको बहस सकिएमा पाण्डेलाई थुनामै राख्ने वा रिहा गर्ने भन्नेबारे अदालतबाट आदेश आउने सम्भावना रहेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पाण्डेलाई गत मंगलबार राति सिन्धुलीको कमलामाई नगरपालिकास्थित बसपार्क क्षेत्रबाट पक्राउ गरेको थियो।

स्मार्ट सेल टेलिकमको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरेको र ठगी तथा आपराधिक विश्वासघात गरेको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तर, पाण्डेको पक्राउ गैरकानुनी भएको दाबी गर्दै उनकी श्रीमती निरु दाहालले बुधबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्।

रिटमा पाण्डेलाई तत्काल रिहा गर्न माग गरिएको छ र अहिले उनी सीआईबीको नियन्त्रणमा रहेका छन्। अदालतको आजको फैसलाले यो प्रकरणमा नयाँ मोड ल्याउने अपेक्षा गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *