७९औँ विश्व स्वास्थ्य महासभामा नेपालले सम्हाल्दै उपाध्यक्षको जिम्मेवारी
काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को सर्वोच्च नीति-निर्माण तह ७९औँ विश्व स्वास्थ्य महासभामा नेपालले यस वर्ष एउटा महत्त्वपूर्ण र नेतृत्वदायी जिम्मेवारी प्राप्त गर्दैछ।
आगामी जेठ ३ देखि १० गतेसम्म स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने उक्त ऐतिहासिक महासभामा नेपालले ‘उपाध्यक्ष’ को भूमिका निर्वाह गरेर विश्व स्वास्थ्य कूटनीतिमा आफ्नो बलियो उपस्थिति र प्रभाव विस्तार गर्ने भएको हो।
यस उच्चस्तरीय मञ्चमा नेपालको तर्फबाट नेतृत्वदायी प्रस्तुति दिनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल भोलि जेनेभा प्रस्थान गर्दैछ।
अन्तर्राष्ट्रिय मञ्चहरूमा सहभागिता जनाउने क्रममा विगतमा ठुलो सङ्ख्यामा प्रतिनिधिमण्डल पठाउने ‘जम्बो टोली’ को परिपाटी रहँदै आएकोमा, यस पटक सरकारले त्यसमा व्यापक सुधार गर्दै निकै छरितो र विज्ञहरू मात्र सम्मिलित टोली पठाउने सकारात्मक निर्णय गरेको छ।
प्रशासनिक खर्च कटौती, अनावश्यक भ्रमण भत्ता र हवाई भाडा नियन्त्रण गर्ने उद्देश्यसहित सरकारले देखाएको यो शैलीलाई राष्ट्रिय स्तरमा एउटा स्वागतयोग्य र मितव्ययी अभ्यासका रूपमा हेरिएको छ।
परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार कुल नौ सदस्यीय प्रतिनिधिमण्डलमध्ये नेपालबाट मन्त्री निशा मेहतासहित मन्त्रालयका सहसचिवद्वय यशोदा अर्याल र डा. रोशन न्यौपाने गरी जम्मा तीन जना उच्चपदस्थ अधिकारीहरू मात्र जेनेभा प्रस्थान गर्नेछन्।
बाँकी छ जना सदस्यहरू भने जेनेभास्थित नेपालको स्थायी नियोगबाटै सहभागी हुने व्यवस्था मिलाइएको छ। जसमा जेनेभाका लागि नेपाली राजदूत तथा स्थायी प्रतिनिधि राम प्रसाद सुवेदी, उप-स्थायी प्रतिनिधि एवं मन्त्री डमरु बल्लभ पौडेल, काउन्सिलर सुवाङ्ग पराजुली, प्रथम सचिवद्वय श्री कृष्ण सिलवाल र रोनल राई तथा द्वितीय सचिव सुजन लामिछाने रहेका छन्।
विदेशस्थित कूटनीतिक नियोगको जनशक्तिलाई अधिकतम उपयोग गर्दै न्यून लागतमा प्रभावकारी जनशक्ति व्यवस्थापनको नमुना प्रस्तुत गरेर सरकारले यस पटक वैदेशिक भ्रमणमा उदाहरणीय कार्यसम्पादन देखाएको छ।







डिसी नेपाल







Facebook Comment