कविता : काम गर्न देऊ

डा. तुलसी उप्रेती
९ जेठ २०८३ ६:५८

आमा हौ-भन तिम्रो लागि मैले के बलि चढाउनुपर्छ?
अब मसँग के नै बाँकी छ र!
तर जे छ, त्यो सबै तिमीलाई नै सुम्पिदिन्छु।
तिमीले उनेको मालाको धागो नै चुँडिन लाग्यो,
रोपेको बिरुवा पनि पानीबेगर नै मुर्झाउन लाग्यो,
सडकमा खसेका रगत-आँसु सुक्न लागे,
बाटो बिर्सेर कतै लक्ष्यहरू नै हराउने त होइनन्?
र पनि जे बाँकी छ, त्यो सबै तिमीलाई नै दिइरहन्छु।
नसम्झ म आजै छोडेर जान्छु,
धुकधुकी रहिन्जेल म तिमीमै समर्पित हुन्छु।

मलाई फक्रिन देऊ नत्र कुल्ची मारिदेऊ,
पाइला सार्न देऊ नत्र खुट्टा नै काटिदेऊ,
मलाई उड्न देऊ नत्र पखेटा नै काटिदेऊ,
हेर्न देऊ सबै दृश्यहरू नत्र आँखामा पट्टी लगाइदेऊ,
सुन्न देऊ आवाजहरू नत्र कानो बनाइदेऊ,
चल्न देऊ यी पखुरीहरू नत्र गरिखाने बाटो नै बन्द गराइदेऊ,
ओकल्न देऊ सबै विचारहरू नत्र मुखमा ताला लगाइदेऊ।

आफ्नो मात्रै दुनो सोझ्याउने पाराले देश बन्दैन,
मेरो अनुहारमा लगाएको क्रिम, पाउडर र लालीले देशको मुहार फेरिँदैन।
असहाय, अपाङ्गता भएका, वृद्ध र समग्र जनताको समस्याको कुरा गर,
मेरो मात्रै मान र पगडीले जनताको मुखमा माड लाग्दैन।
आर्थिक विकास नगरी भोको पेट स्वाभिमानी बन्न सक्दैन,
देश विकासमा तगारो बन्दै न्यायको डण्डा चलाएर देशमा समृद्धि आउँदैन,
छोराछोरीको बिछोडले तड्पिएकी आमाको श्राप नलागोस्!

बनाउन देऊ यो भत्केको घर नत्र ओडारमा ओत लाग्नुपर्ला,
चलाउन देऊ नैतिकताको बाण नत्र भ्रष्टहरूको सिकार बनिरहनुपर्ला,
खुवाउन देऊ औषधि नत्र बिरामी यसै अकालमै मर्ला,
चलाउन देऊ हातखुट्टा नत्र रित्तो घर र बाँझो खेत मात्रै रहला,
खोल्न देऊ कलकारखाना नत्र बेरोजगार बनिरहनुपर्ला।

न्यायालय अन्याय गर्नेहरूको साम्राज्य नबनोस्,
न्याय दिनका लागि नेताको मुख ताक्नु नपरोस्,
न्यायमूर्ति बन्न कुनै मन्दिरमा दक्षिणा चढाउनु नपरोस्।
वर्षौँवर्ष लगाएर दिएको न्याय-न्याय होइन,
न्यायको नाममा विगतमा गरिएका भाटे कारबाही न्यायको सम्पादन होइन।
न्यायालयमा आगो लगाएर होइन, विकृतिहरू बढारेर सुधारौँ,
विभेद र प्रतिशोध त्यागेर न्याय दिँदै जनताको विश्वास र सम्मान जितौँ।
जनताका लागि न्यायालय देशको निष्पक्ष, पवित्र र भरोसाको खम्बा बनोस्।

प्रत्येक नेपालीको हाँसो र खुसी नै समृद्ध नेपालको लक्षण हो,
केही समय लाग्ला तर न्याय स्थापना गर्न देऊ।
बेरोजगारी, गरिबी, भ्रष्टाचार हटाउन देऊ,
गुणस्तरीय स्वास्थ्य र शिक्षा सबै जनतामा पुर्‍याउन देऊ,
शान्ति सुरक्षाको प्रत्याभूति गर्दै जनताले जीवनयापन गर्न सकून्।
त्यसैले पहिला काम गर्न देऊ, अनि सोध जति सोध्नु छ;
बालुवामा जाल हानेर माछा आउँदैन,
ढुङ्गा निचोरेर तेल झर्दैन,
सहयोगी हात र विवेकबिना देश बन्दैन,
र नै यो देशले निस्वार्थ माया र सेवाको स्वागत गर्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *