ज्ञानेन्द्र विवश: निबन्धकार, कलाकार-कला लेखक र एक असल मित्र
आजका धेरै पाठकहरूका लागि ज्ञानेन्द्र विवशको परिचय एउटा प्रसिद्ध नियात्रा लेखक र स्थापित निबन्धकारका रूपमा मात्र सीमित हुन सक्छ। यो उनका रोचक, ज्ञानवर्द्धक र ठूलो सङ्ख्यामा प्रकाशित नियात्राहरू तथा सामाजिक विषयका निबन्धहरूका कारणले गर्दा हो।
तर साँचो भन्नुपर्दा, उहाँको व्यक्तित्व त्यतिमा मात्र सीमित छैन; उहाँ त्योभन्दा धेरै माथि हुनुहुन्छ- उहाँ एक कुशल कलाकार, प्रखर कला-लेखक, निबन्धकार, नियात्राकारका साथै कलाका गम्भीर समालोचक पनि हुनुहुन्छ।
सबैभन्दा महत्त्वपूर्ण कुरा, मेरो लागि उहाँ लामो समयदेखिको एक आत्मीय र असल मित्र हुनुहुन्छ। सर्वसाधारण पाठकहरूलाई भने उहाँ एक बहुमुखी प्रतिभाका धनी व्यक्तित्व हुनुहुन्छ भन्ने कुरा कमै थाहा हुन सक्छ- जसमा अनेकौँ सिर्जनात्मक क्षमता र विधाहरू एकै ठाउँमा समेटिएका छन्।
मैले उहाँलाई पहिलो पटक भेट्दा, समकालीन नेपाली कला, विशेष गरी विगतको इतिहास र नेपाली चित्रकलाको बदलिँदो अवस्थाप्रति गहिरो चासो राख्ने एक जिज्ञासु युवा कला-लेखका रूपमा पाएको थिएँ।
यो करिब तीन दशक वा त्योभन्दा पनि अघिको कुरा हुन सक्छ। त्यतिबेला मलाई उहाँ आफैँ पनि एक सिद्धहस्त कलाकार हुनुहुन्छ भन्ने थाहा थिएन- जसले ललितकलाको विद्यार्थीका रूपमा यस विधाको औपचारिक शिक्षासमेत लिनुभएको थियो।
एक पटक एउटा कार्यशालाका क्रममा उहाँलाई क्यानभास, रङ र ब्रसका साथ तल्लीन देख्दा म निकै अचम्ममा परेँ। त्यसपछि मैले अनुमान गरेँ कि उहाँ नेपाली कलाको क्षेत्रमा एक गम्भीर कलाकर्मी र लेखक बन्न दृढ संकल्पित हुनुहुन्छ।
यो सङ्गतिले मलाई उहाँ कसरी कलाका सिर्जनाहरूको प्राविधिक पक्षमा यति गहिराइमा पुगेर विवेचना गर्न सक्नुहुन्छ भन्ने कुरा बुझ्न मद्दत गर्यो। उहाँको प्राज्ञिक प्रगतिले मेरो यो विश्वासलाई अझ बलियो बनायो कि- कलाका बारेमा आधिकारिक रूपमा लेख्नका लागि कलाकै शैक्षिक पृष्ठभूमि हुनु अति आवश्यक छ।
त्यसैले, ज्ञानेन्द्र विवशजी आज आफ्ना कला-लेखनहरूमा कति वस्तुपरक र प्रभावशाली हुनुहुन्छ भन्ने कुराको एक उत्कृष्ट उदाहरण हुनुहुन्छ। मेरो तत्कालीन अनुमान सही साबित भयो; ज्ञानेन्द्र विवश एक स्थापित कला लेखक, निबन्धकार र समालोचक बन्न धेरै समय लागेन।
धेरै वर्षपछि आज मलाई यो देखेर खुसी लाग्छ कि उहाँको अभिव्यक्ति क्षमता र उहाँले पस्कन चाहनुभएको बौद्धिक खुराकको बारेमा मेरो आकलन पूर्णतः सही थियो।
आज उहाँ नेपालका सीमित गम्भीर कला लेखकहरूमध्ये एक हुनुहुन्छ- जसलाई नेपाली कलाका विविध आयामहरू र कलाकारहरूको भूत तथा वर्तमानको पूर्ण एवं अर्थपूर्ण बुझाइ छ। आज उहाँका नेपाली कलासम्बन्धी धेरै पुस्तकहरू प्रकाशित छन्, जुन उहाँको लगनशीलता हेर्दा कुनै अचम्मको कुरा होइन।
यो उपलब्धि सानो होइन- किनकि उहाँले यो छोटो समयमै निकै गहन कामहरू हासिल गर्नुभएको छ। उहाँका कृतिहरूमा महत्त्वपूर्ण विषयहरू र धेरै कलाकारहरूको जीवनीमा आधारित अनेकौँ उत्कृष्ट निबन्धहरू समावेश छन्।
म पूर्ण रूपमा विश्वस्त छु कि उहाँका यी सिर्जनात्मक प्रयासहरू भविष्यमा नेपाली चित्रकलाको इतिहासका लागि महत्त्वपूर्ण र ऐतिहासिक दस्तावेजका रूपमा रहिरहने छन्।
व्यक्तिगत रूपमा पनि मैले ज्ञानेन्द्र विवशलाई एक भद्र, शालीन, जानकार विद्वान र सधैँ एक असल एवं सच्चा मित्रका रूपमा पाएको छु। हाम्रो उमेरको अन्तरले हाम्रो मित्रता र वैचारिक सामीप्यतामा कहिल्यै कुनै फरक पारेन।
उहाँका रचनात्मक सुझाव र टिप्पणीहरूले मलाई सधैँ आफ्ना कामहरू सुधार्न र अझ राम्रो गर्न प्रेरित गरिरहे। मेरा पुस्तकहरूका बारेमा उहाँले लेख्नुभएका धेरै निबन्ध वा समालोचनाहरूले मलाई व्यापक पाठकमाझ पुग्न ठुलो सहयोग गरेका छन्; त्यसैले मेरो लेखनको यो सानो प्रयासमा उहाँले पुर्याउनुभएको अमूल्य सहयोगका लागि म सधैँ आभारी रहने छु।
अन्त्यमा, म पूर्ण रूपमा विश्वस्त छु कि लेखनमा उहाँको यो निरन्तर र अविश्राम यात्राले, विशेष गरी नेपाली चित्रकलाको विधालाई अझ बढी समृद्ध र जीवन्त बनाउने छ। उहाँलाई एक असल कलाकार, प्रखर कला-लेखक, निबन्धकार, प्रख्यात नियात्राकार र मेरो एक हितैषी मित्रका रूपमा आगामी दिनहरूको लागि मेरो तर्फबाट सधैँ धेरै-धेरै हार्दिक शुभकामना छ।
(साभार: ‘ज्ञानगुनका कुरा’ भाग २७० (ज्ञानेन्द्र विवश अंक- १) अङ्ग्रेजीबाट अनुदित।)















Facebook Comment