असामान्य वर्षा: प्रि-मनसुनको झरी, सम्भावित ‘सुपर एल निनो’ र सुक्खा मनसुनको चुनौती

यस वर्ष नेपालको मौसमी अवस्था सामान्यभन्दा निकै फरक देखिएको छ। सामान्यतया मार्चदेखि मेसम्मको (फागुन १६ देखि जेठ १५ सम्म) अवधि प्रि-मनसुन मानिन्छ, जुन समयमा सामान्यतया गड्याङगुडुङ गर्दै छोटो समयको वर्षा, हावाहुरी र केही दिनको अस्थिर मौसम देखिन्छ।

तर, यस वर्ष भने मार्चको सुरुदेखि नै लगभग दैनिकजसो वर्षा भइरहेको छ र त्यो क्रम अझै पनि जारी छ। देशका धेरै भागहरूमा लगातार बादल लाग्ने, मध्यमदेखि भारी वर्षा हुने, चट्याङ तथा असिना पर्ने घटनाहरू बारम्बार धेरै ठाउँमा देखिएका छन्। दुई महिनादेखि भइरहेको वर्षाको प्रमुख मौसमी प्रणाली सक्रिय पश्चिमी वायु नै हो।

सामान्यतया जाडो याममा बढी प्रभावकारी हुने पश्चिमी वायु यस वर्ष प्रि-मनसुन अवधिमा पनि अत्यन्त सक्रिय देखिएको छ। यसले नेपालभरि लामो समयसम्म लगातार वर्षा गराइराखेको छ।

देशका विभिन्न मौसम केन्द्रहरूले पछिल्ला दुई महिनामा उल्लेखनीय वर्षा रेकर्ड गरेका छन्। केही वर्षदेखि हिउँदे (१५ मङ्सिरदेखि १५ फागुनसम्म) वर्षामा उल्लेखनीय कमी आएको देखिन्छ तर चैत-वैशाखमा वर्षाको मात्रा राम्रैसँग बढेको पनि छ।

जल तथा मौसम विज्ञान विभागको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको वर्षा मापक केन्द्रको आँकडा हेर्दा यो वर्ष २०२६ को चार महिना (जनवरी, फेब्रुअरी, मार्च र अप्रिल) को वर्षा अस्वाभाविक भने होइन।

सन् १९९१ देखि २०२० सम्मको (३० वर्ष) यी चार महिनाको औसत कुल वर्षा हेर्दा १२६ मिमि रहेकामा यो वर्ष २०२६ को सोही चार महिनाको अवधिमा जम्मा १२० मिमि वर्षा रेकर्ड गरिएको छ। यसै गरी विगत ३० वर्षमा औसत २० दिन वर्षा हुने गरेकामा यो वर्ष पनि २० दिन नै वर्षा रेकर्ड गरिएको छ।

विगत १० वर्ष जस्तै सन् २०१७, २०१९, २०२० र २०२२ मा औसतभन्दा बढी वर्षा भएको छ। यसमा सन् २०१९ मा २२५ मिमि (४० दिन) र सन् २०१६, २०१८, २०२१, २०२३, २०२४ र २०२५ मा औसतभन्दा कम वर्षा भएको छ। त्यसमध्ये पनि सन् २०१६, २०२२ र २०२४ मा ५० मिमिभन्दा कम वर्षा भएको थियो। यसै गरी २०२४ मा जम्मा आठ दिन मात्र वर्षा भएको थियो।

मध्यम अवधिको मौसम पूर्वानुमानले आगामी दुई हप्तासम्म पनि वर्षा प्रणाली सक्रिय रहने सङ्केत दिएको छ। अर्थात् जेठ महिनाको अन्त्यसम्म धेरै स्थानहरूमा वर्षा जारी रहने सम्भावना देखिन्छ।

यद्यपि, त्यसपछि भने मौसमको ढाँचा अचानक परिवर्तन हुने सङ्केतहरू देखिन थालेका छन्। जुन महिनादेखि क्रमशः सुक्खा अवस्था विकसित हुन सक्ने अनुमान गरिएको छ, जुन आगामी मनसुनका लागि चिन्ताजनक सङ्केत हुन सक्छ।

यस वर्षको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको प्रशान्त महासागरमा विकसित हुँदै गएको सम्भावित ‘सुपर एल निनो’ अवस्था हो। एल निनो एक जलवायु प्रणाली हो, जसमा मध्य तथा पूर्वी प्रशान्त महासागरको तापक्रम सामान्यभन्दा धेरछ।

जब एल निनो अत्यधिक बलियो हुन्छ अर्थात् मध्य तथा पूर्वी प्रशान्त महासागरको तापक्रम औसतभन्दा दुई डिग्री वा त्योभन्दा बढी हुन्छ, त्यसलाई ‘सुपर एल निनो’ भनिन्छ।

अनुसन्धानले देखाएको छ कि बलियो एल निनोका वर्षहरूमा दक्षिण एसियाली मनसुन प्रायः कमजोर हुने गर्छ र नेपालमा पनि सुपर एल निनो भएका पछिल्ला वर्षहरूमा औसतभन्दा धेरै कम वर्षा भएको तथ्याङ्क देखिन्छ।

आगामी छ महिना (सम्भावना त्योभन्दा बढी पनि) सम्मको संसारभरको मौसम यही एल निनोले प्रभाव पार्ने देखिन्छ।

त्यसैको कारणले तापक्रम बढ्ने, कुनै ठाउँमा सुक्खा त कुनै ठाउँमा भीषण वर्षा हुने र कृषि उत्पादनलाई सबैभन्दा धेरै प्रभाव पार्ने देखिन्छ। सबैभन्दा धेरै असर यो मनसुनमा एसियामा सुक्खा हुने हुँदा धान उत्पादन घट्ने सम्भावना छ।

नेपालका लागि मनसुन केवल मौसमी घटना मात्र होइन, अर्थतन्त्रको आधार पनि हो। नेपालको कृषि प्रणाली वर्षामा अत्यधिक निर्भर छ। धान, मकै लगायतका प्रमुख बालीहरू समयमै पर्ने मनसुन वर्षामा आधारित हुन्छन्।

यदि यस वर्ष मनसुन कमजोर भयो भने धान रोपाइँमा ढिलाइ, उत्पादनमा गिरावट, तथा खाद्य सुरक्षामा चुनौती आउन सक्छ। यो वर्ष देखिएको ढाँचाले वर्षाको समयगत स्थानान्तरण भएको संकेत दिन्छ। पूर्व-मनसुन अवधिमा अत्यधिक वर्षा भइरहेको छ भने मुख्य मनसुन समयमा कम वर्षा हुन सक्ने सम्भावना बढ्दो छ।

प्रि-मनसुनको वर्षाले तत्कालका लागि माटोमा आद्रता बढाउने र केही बालीलाई फाइदा पुर्‍याउने भए पनि, दीर्घकालीन रूपमा मनसुनकै वर्षा कृषि उत्पादनका लागि निर्णायक हुन्छ। विशेष गरी असार-साउनमा पर्याप्त पानी नपरे धानखेतीमा ठुलो असर पर्न सक्छ।

यसको असर कृषि क्षेत्रमा मात्र सीमित रहने छैन। नेपालको समग्र अर्थतन्त्रमा कृषि क्षेत्रको ठुलो योगदान भएकाले उत्पादन घट्दा खाद्यान्नको मूल्य वृद्धि हुन सक्छ, आयात निर्भरता बढ्न सक्छ र व्यापार घाटा थप गहिरिन सक्छ। ग्रामीण क्षेत्रमा रोजगारी र आम्दानीमा पनि प्रत्यक्ष असर पर्नेछ।

यसको प्रभावका कारण जलविद्युत् क्षेत्रमा पनि चुनौती थपिन सक्छ। नेपालका अधिकांश जलविद्युत् आयोजना नदीको बहावमा आधारित छन्। यदि मनसुन कमजोर भयो भने नदीमा पानीको मात्रा घट्न सक्छ, जसले विद्युत् उत्पादनमा कमी ल्याउन सक्छ।

ऊर्जा संकटको सम्भावना बढ्नुका साथै औद्योगिक उत्पादन र दैनिक जीवनमा समेत असर पर्न सक्छ। पर्यटन क्षेत्रमा पनि दोहोरो प्रभाव देखिन सक्छ। पूर्व-नसुनमा लगातार वर्षाले ट्रेकिङ, हिमाल आरोहण र आन्तरिक पर्यटनमा बाधा पुर्‍याउन सक्छ। त्यसपछि यदि लामो सुक्खा अवस्था विकसित भयो भने हिमाली तथा प्राकृतिक जलस्रोतहरूको सौन्दर्य र आकर्षणमा असर पर्न सक्छ।

यस परिस्थितिमा सरकार र सम्बन्धित निकायहरूले समयमै रणनीतिक तयारी गर्नु अत्यावश्यक देखिन्छ। कृषि क्षेत्रमा सिँचाइ व्यवस्थाको विस्तार, कम पानी चाहिने बालीहरूको प्रवर्द्धन तथा मौसमअनुकूल खेती प्रणाली अपनाउनुपर्ने आवश्यकता छ। किसानहरूलाई समयमै सिजनल पूर्वानुमान र मौसम सूचना उपलब्ध गराउनु अत्यन्त महत्त्वपूर्ण हुन्छ।

त्यसै गरी, जलस्रोत व्यवस्थापनलाई दीर्घकालीन रूपमा पुनः सोच्नुपर्ने आवश्यकता देखिएको छ। जलाशय निर्माण, वर्षाको पानी संकलन, तथा बहुउद्देश्यीय सिँचाइ योजनाहरूमा लगानी बढाउनुपर्ने अवस्था आएको छ। यो अवस्था जलवायु परिवर्तनसँग पनि जोडिएको हुन सक्छ।

पछिल्ला वर्षहरूमा नेपालमा मौसमी चरम घटनाहरू जस्तै: अत्यधिक वर्षा, लामो खडेरी, असिनापानी, गर्मीको लहर बढ्दै गएका छन्। यस वर्षको असामान्य प्रि-मनसुनको वर्षा र सम्भावित सुक्खा मनसुन भविष्यमा अझ जटिल जलवायु चुनौतीहरूको संकेत हुन सक्छ। रासस

(लेखकद्वय जल तथा मौसम विज्ञान केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयमा कार्यरत छन्)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *