प्रधानमन्त्री शाहले आज इयूसहित ३० भन्दा बढी देशका कूटनीतिज्ञहरूसँग संयुक्त छलफल गर्दै

डिसी नेपाल
१२ जेठ २०८३ ६:४५

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले आज नेपालस्थित युरोपेली संघ (इयू) मा आवद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त छलफल गर्दैछन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहान साढे ११ बजे इयू अन्तर्गतका २२ देश तथा दक्षिण-पूर्वी एशियाली मुलुकका गरी ३० भन्दा बढी कूटनीतिज्ञहरूसँग सामूहिक भेट र संवाद गर्ने कार्यक्रम तय भएको छ।

यसअघि गत चैत २५ गते पनि प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग यसै गरी सामूहिक भेट र संवाद गरेका थिए।

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार यस सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे कूटनीतिक समुदायलाई जानकारी गराइनेछ। बैठकमा नेपालको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र बहुपक्षीय सहकार्यका विविध विषयमा छलफल केन्द्रित हुने जानकारी दिइएको छ।

यसका साथै बैठकमा नेपाललाई अतिकम विकसित देशको समूहमा यथावत राखी अन्तर्राष्ट्रिय समर्थन जुटाउने प्रयास गरिनेछ।

विशेष गरी लामो समयदेखि नेपाली उड्डयन क्षेत्रले झेल्दै आएको युरोपेली संघको हवाई सुरक्षा ‘कालोसूची’ बाट नेपाललाई हटाउनका लागि कूटनीतिक पहल कदमी बढाउने विषयमा समेत गहन छलफल हुने बताइएकाे छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *