प्रतिपक्षको दबाबपछि सभामुखको आश्वासन- ‘प्रधानमन्त्री छिट्टै सदनमा उपस्थित हुनुहुन्छ’

डिसी नेपाल
१२ जेठ २०८३ १८:११

काठमाडौं। प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह छिट्टै सदनमा उपस्थित हुने तयारीमा रहेको जानकारी गराएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री शाहको उपस्थिति र समसामयिक विषयमा उनको जवाफको माग गर्दै लगातार दबाब दिएपछि सभामुख अर्यालले यस्तो जानकारी गराएका हुन्।

सभामुख अर्यालले आफूले प्रधानमन्त्रीसँग अनौपचारिक संवाद गरेको खुलाउँदै उनी सदनमा आएर जवाफ दिन सकारात्मक र तयार रहेकाले संसद्को अवरोध हटाउन विपक्षी दलका सांसदहरूलाई आग्रह गरे।

सरकारका तर्फबाट औपचारिक पत्र प्राप्त हुनासाथ प्रधानमन्त्री शाह संसदमा उपस्थित हुने मिति र समय तय गरिने पनि उनले स्पष्ट पारे। देशमा कानुन निर्माणका धेरै महत्त्वपूर्ण कामहरू अझै बाँकी रहेको स्मरण गराउँदै सभामुख अर्यालले संसद्को कामकारबाहीलाई नरोक्न प्रतिपक्षी दलहरूसँग विशेष अनुरोध गरे।

यसअघि आजैको बैठकमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले पनि प्रधानमन्त्री शाह एक साताभित्रै सदनमा उपस्थित हुने जानकारी संसद्लाई गराएका थिए।

मुख्य सचेतक र सभामुख दुवैका तर्फबाट प्रधानमन्त्री छिट्टै आउने आश्वासन पाएपछि लामो समयदेखि सदनमा जारी गतिरोध अन्त्य हुने विश्वास गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *