वित्तीय संकटका कारण निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने स्वास्थ्य बिमा सेवा स्थगन

डिसी नेपाल
१३ जेठ २०८३ १२:१२

काठमाडौं। स्वास्थ्य बिमा बोर्डमा बढ्दै गएको वित्तीय संकटका कारण निजी स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिने स्वास्थ्य बिमाका सेवाहरू स्थगन गरिएको छ।

बोर्डमा चुलिँदै गएको आर्थिक चुनौतीलाई मध्यनजर गर्दै अर्को निर्णय नभएसम्मका निम्ति आकस्मिक (इमर्जेन्सी) बाहेकका सम्पूर्ण नियमित स्वास्थ्य बिमा सेवाहरू बन्द गर्ने निर्णय गरिएको हो।

बोर्डले एक आधिकारिक निर्णय सार्वजनिक गर्दै स्वास्थ्य बिमा बोर्डको वित्तीय संकटलाई ध्यानमा राखी अर्को निर्णय नभएसम्मका लागि नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिने आकस्मिक सेवाबाहेकका अन्य सम्पूर्ण स्वास्थ्य बिमाका सेवाहरू आगामी २०८३ साल जेठ १६ गतेदेखि लागू हुने गरी स्थगन गरिएको जनाएको छ।

बोर्डले यस निर्णयबाट पर्न जाने असुविधाप्रति सचेत रहँदै सम्बन्धित सबै सरोकारवाला तथा सर्वसाधारणको जानकारीका लागि यो सूचना जारी गरिएको उल्लेख गरेको छ।

यो निर्णयसँगै आगामी जेठ १६ गतेदेखि बिमितहरूले निजी अस्पताल वा स्वास्थ्य संस्थाहरूमा स्वास्थ्य बिमा कार्डमार्फत ओपिडी लगायतका सामान्य उपचार सेवाहरू निःशुल्क वा सहुलियत दरमा पाउने छैनन्।

तर, बिरामीको ज्यान जोखिममा रहेका आकस्मिक अवस्थाहरूमा दिइने सेवा भने पूर्ववत् रूपमै सुचारु रहने बोर्डको निर्णयमा स्पष्ट पारिएको छ। सरकारको यो कदमले निजी क्षेत्रका स्वास्थ्य संस्थाहरूमा बिमा गराई उपचार गराउँदै आएका लाखौँ सर्वसाधारण नागरिक प्रत्यक्ष प्रभावित हुने देखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *