आईटीबी चीनमा नेपालको पर्यटन प्रवर्द्धन, सात प्रमुख कम्पनीको सहभागिता

डिसी नेपाल
१३ जेठ २०८३ १८:३२

काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपालका सात प्रमुख पर्यटन कम्पनीहरूसँग मिलेर चीनको सांघाईमा आयोजित आईटीबी चाइना २०२६ मा सहभागिता जनाएको छ।

सांघाई वल्र्ड एक्स्पो प्रदर्शनी तथा कन्भेन्सन सेन्टरमा मे २६ देखि २८ सम्म सञ्चालन भइरहेको उक्त अन्तर्राष्ट्रिय यात्रा तथा पर्यटन प्रदर्शनी विश्वभरका पर्यटन व्यवसायी र कम्पनीहरूबीच बीटुबि संलग्नताको प्रमुख प्लेटफर्मका रूपमा परिचित छ।

नेपालले बुथ नम्बर एल–३५ मार्फत साहसिक पर्यटन, सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्य, वेलनेस तथा विविध पर्यटन अनुभवहरू प्रदर्शन गरिरहेको बोर्डले जनाएको छ। नेपाललाई जीवनभर सम्झनलायक अनुभव प्रदान गर्ने आकर्षक गन्तव्यका रूपमा अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने उद्देश्यले सहभागिता जनाइएको हो।

प्रदर्शनीमार्फत चिनियाँ तथा अन्तर्राष्ट्रिय पर्यटन बजारसँग प्रत्यक्ष नेटवर्क विस्तार गर्नुका साथै नेपाली पर्यटन गन्तव्य, उत्पादन र सेवाबारे जानकारी आदानप्रदान भइरहेको जनाइएको छ।

प्रदर्शनीमा सहभागी नेपाली कम्पनीहरूमा डेस्टिनागो टुर्स एण्ड ट्राभल्स, पर्ल होलिडेज, रूपाकोट रिसोर्ट, शुआङ क्यू टुर्स, जर्नी डीएमसी, द ट्रेक नेपाल र आउटडोर एक्सपिडिसनहरू रहेका छन्।

नेपाल पर्यटन बोर्डले यस्ता अन्तर्राष्ट्रिय मञ्चमार्फत नेपालमा विदेशी पर्यटक भित्र्याउन, नयाँ बजार विस्तार गर्न तथा पर्यटन क्षेत्रको अन्तर्राष्ट्रिय पहुँच सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *