नुवाकोटको गुर्जेभञ्ज्याङमा विद्युतीय कार दुर्घटना: एक जनाको मृत्यु, दुई गम्भीर घाइते

डिसी नेपाल
१५ जेठ २०८३ ८:०९

नुवाकाेट। छहरे-टोखा सडकखण्ड अन्तर्गत नुवाकोटको शिवपुरी गाउँपालिका-६ गुर्जेभञ्ज्याङमा बिहीबार साँझ एक गुडिरहेको विद्युतीय कार अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी निरीक्षक विनोद ढकालका अनुसार बा.ई. ०५६९ नम्बरको उक्त सवारी साधन सडकबाट करिब १५० मिटर तल खसेको थियो। जङ्गल क्षेत्र र अँध्यारो अवस्थाको प्रतिकूलताका बाबजुद स्थानीयवासीको सक्रिय सहयोगमा प्रहरीले शीघ्र उद्धार गरी घाइतेहरूलाई तत्कालै उपचारका लागि काठमाडौँ पठाएको थियो।

दुर्घटनामा परी सिराहा सुखीपुरी-२ का ३५ वर्षीय सञ्जीवकुमार चौधरीको मृत्यु भएको छ। दुर्घटना लगतै गम्भीर घाइते अवस्थामा उद्धार गरिएका चौधरीलाई उपचारका लागि काठमाडौँस्थित ग्राण्डी अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार उनको साथमा रहेको सवारी चालक अनुमति पत्रका आधारमा पहिचान सनाखत गरिएको हो। यसैगरी दुर्घटनामा परेर गम्भीर घाइते भएका सुनसरीको इनरुवा नगरपालिका-५ का ४० वर्षीय उत्सव पोखरेल र काठमाडौँ महानगरपालिका-९ गौरीघाटका ४४ वर्षीय लोकेश मिश्रको अहिले ग्राण्डी अस्पतालमै उपचार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *