कांग्रेस कार्यकर्ताको नाममा रास्वपाको जबर्जस्ती सदस्यता: पौडेलद्वारा ‘फेक कागजको टुक्रो’ भन्दै अस्वीकार

डिसी नेपाल
१५ जेठ २०८३ १४:५५

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपाली कांग्रेसका एक क्रियाशील सदस्यलाई उनको अनुमतिविना नै जबर्जस्ती आफ्नो पार्टीको सदस्यता भिराएको घटना सार्वजनिक भएको छ।

नेपाली काँग्रेसको जनसम्पर्क समिति कतारमा आबद्ध क्रियाशील सदस्य अम्बिका पौडेलको नाममा रास्वपाले उनको जानकारीविना नै सदस्यता रसिद काटेको भेटिएको हो।

आफ्नो इमेलमा रास्वपाको सदस्यता रसिद प्राप्त भएपछि पौडेलले आश्चर्य प्रकट गर्दै सामाजिक सञ्जालमार्फत यसको तीव्र विरोध र भर्त्सना गरेका छन्। आफ्नो राजनीतिक आस्थामाथि प्रहार गर्न खोजिएको भन्दै उनले रास्वपाको यो कदमलाई अराजकताको पराकाष्ठाको रूपमा चित्रण गरेका छन्।

सामाजिक सञ्जालमा आफ्नो आक्रोश पोख्दै पौडेलले लेखेका छन्, “मैले कुनै पनि फारम भरेको र सदस्यता शुल्क तिरेकै छैन। मेरो नामको दुरुपयोग गरी जबर्जस्ती सदस्यता भिराउने घृणित र अवांछनीय क्रियाकलापले मेरो राजनीतिक आस्थाप्रति गम्भीर चोट लागेको छ। मेरो अनुमति, मञ्जुरी र धरातलको सामान्य ख्याल समेत नगरी मलाई सो पार्टीको सदस्यता वितरण गरिनु अराजकताको पराकाष्ठा हो।”

पौडेलका अनुसार उनको नाममा जालसाजी गरेर गलत फोन नम्बर (+९७७-९७६१०९२०२०) प्रयोग गरी यो कुकृत्य गरिएको हो। उनले अगाडि लेखेका छन्, “यस्तो अमान्य र जबर्जस्ती भिराइएको सदस्यतालाई म ‘फेक कागजको टुक्रो’ मात्र सम्झन्छु र यसलाई पूर्ण रूपमा वैधानिक अस्वीकार गर्दछु।”

कांग्रेस कार्यकर्ता पौडेलले सस्तो लोकप्रियताका लागि यस्ता अराजक गतिविधि नगर्न र अरूको राजनीतिक आस्थाप्रति सम्मान गर्न रास्वपा नेतृत्वलाई आग्रह गरेका छन्।

साथै, उनले भ्रमपूर्ण र कानुनी रूपमा अवैध ढंगले सदस्यता वितरण गर्ने रास्वपाको सदस्यता वितरण विभागमाथि तत्काल छानबिन गरी कारबाही गर्न समेत माग गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *