परम्परागत झोला छाडेर नेपाली कागजको खाममा अर्थमन्त्री वाग्लेको बजेट
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुतिका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यसपटक नयाँ शैली अपनाएका छन्। बजेट पुस्तिका बोक्न वर्षौँदेखि चल्दै आएको परम्परागत छालाको ब्रिफकेस वा झोलाको सट्टा उनले नेपाली रैथाने उत्पादनलाई रोजेका छन्।
आगामी वर्षको बजेट मन्त्रिपरिषद्बाट पारित गराउन अर्थ मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार प्रस्थान गर्दा अर्थमन्त्री डा. वाग्लेको हातमा बजेट पुस्तिका राखिएको मौलिक नेपाली कागजको खाम देखिएको थियो, जसलाई आकर्षक रिबनले सजाइएको छ।
विगतका वर्षहरूमा अर्थमन्त्रीहरूले बजेट विवरण मुख्य गरी कालो वा खैरो रङको छालाको झोलामा बोकेर सिंहदरबार र संसद् भवन जाने चलन थियो। तर, पछिल्ला वर्षहरूमा बजेटमार्फत नेपाली पहिचान र आन्तरिक उत्पादनलाई प्रवर्द्धन गर्ने सांकेतिक प्रयास स्वरूप यस्ता नयाँ प्रयोग देखिन थालेका छन्।
यसअघि पूर्वअर्थमन्त्री वर्षमान पुनले नेपालमै उत्पादित अल्लोको झोलामा बजेट पुस्तिका बोकेर संसद् पुगेका थिए भने यसपटक अर्थमन्त्री डा. वाग्लेले नेपाली कागजको खाम रोजेर स्वदेशी उत्पादनको उपयोगलाई प्रोत्साहन गर्ने सन्देश दिएका छन्। मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको यो बजेट केही बेरमा संघीय संसद्को संयुक्त सदनमा प्रस्तुत हुँदैछ।















डिसी नेपाल







Facebook Comment