बोरामा प्याक गरिएको अवस्थामा महिलाको शव फेला
झापा । झापाको दमकमा एक महिलाको शव शङ्कास्पद अवस्थामा फेला परेको छ। दमक नगरपालिका वडा नम्बर १० सेतुमाडीस्थित रतुवा खोलाको पुलमुनि बगिरहेको पानीमा बोरामा पोको पारिएको अवस्थामा शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार खोलाको पानीमा ढाडिएको अवस्थामा सेतो प्लाष्टिकको बोराभित्र एउटा शङ्कास्पद पोको फेला परेको थियो। स्थानीयले उक्त पोको देखेपछि प्रहरीलाई खबर गरेका थिए।
फेला परेको शव अन्दाजी ३० देखि ३२ वर्ष उमेरकी महिलाको रहेको प्रहरीले जनाएको छ। मृतक महिलाले रातो रङको भेस्ट र जिन्सको पाइन्ट लगाएकी छिन्। हालसम्म उनको पहिचान (सनाखत) हुन सकेको छैन।
घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायब उपरीक्षककै कमान्डमा विशेष प्रहरी टोली घटनास्थलमा खटिएको छ। शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाइने र घटनाको प्रकृति शङ्कास्पद देखिएकाले हत्याको आशङ्कामा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।







डिसी नेपाल







Facebook Comment