श्रम स्वीकृति नभई विमानस्थल नलगाउन अध्यागमन विभागको आग्रह: आवेदन दिएकै भरमा प्रस्थान अनुमति नपाइने
काठमाडौं। अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूलाई आफ्नो श्रम स्वीकृति पूर्ण रूपमा जारी भइसकेपछि मात्रै यात्रा तय गर्न विशेष अनुरोध गरेको छ।
विभागले एक प्रेस विज्ञप्ति जारी गर्दै श्रमिक भिसामा विदेश जान लागेका कतिपय नागरिकले श्रम स्वीकृतिका लागि आवेदन मात्रै दिएर विमानस्थल आउने गरेको पाइएकाले त्यसो नगर्न सचेत गराएको हो।
पछिल्लो समय वैदेशिक रोजगार विभागको प्रणालीमा श्रम स्वीकृतिको आवेदन दिएकै भरमा, त्यो स्वीकृत नहुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा प्रस्थानका लागि आउने श्रमिकहरूको सङ्ख्या बढ्दो छ।
श्रम स्वीकृति जारी नभएको अवस्थामा अध्यागमनले प्रस्थान अनुमति (डिपार्चर क्लियरन्स) दिन नमिल्ने भएकाले विमानस्थलबाटै फर्किनुपर्दा श्रमिकहरूलाई ठुलो आर्थिक र मानसिक मर्का पर्ने गरेको विभागले जनाएको छ।
अध्यागमन विभागका अनुसार धेरैजसो अवस्थामा श्रमिक आफैँलाई आफ्नो श्रम स्वीकृतिको वास्तविक अवस्था थाहा नहुने गरेको पाइएको छ। दलाल वा अन्य व्यक्तिमार्फत श्रम स्वीकृतिको निवेदन मात्रै हालेर ‘श्रम स्वीकृति भइसक्यो’ भन्ने गलत सूचनाका आधारमा श्रमिकहरू विमानस्थल आइपुग्ने गरेका छन्।
विभागले श्रमिक भिसामा विदेश यात्रा गर्ने प्रत्येक नेपाली नागरिकलाई आफ्नो श्रम स्वीकृति अनलाइन प्रणालीमार्फत भइसकेको शतप्रतिशत यकिन गरेर मात्रै टिकट काट्न र घरबाट निस्किन आग्रह गरेको छ।
श्रम अनुमतिको आवेदन ‘पेन्डिङ’ रहेको वा स्वीकृत नभएको अवस्थामा विमानस्थल अध्यागमनबाट कुनै पनि हालतमा प्रस्थान अनुमति दिन नसकिने विभागले आफ्नो विज्ञप्तिमा प्रस्ट पारेको छ।







डिसी नेपाल







Facebook Comment