प्रचण्डको स्वास्थ्यमा सुधार, भोलि नै अस्पतालबाट डिस्चार्ज हुने सम्भावना
काठमाडौं। अस्पतालमा उपचाररत नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्।
चिकित्सकहरूले परिवारका सदस्य तथा पार्टीका नेताहरूलाई दिएको जानकारीअनुसार स्वास्थ्यमा सुधार आउने क्रम यसरी नै निरन्तर जारी रहेमा उनलाई भोलि नै अस्पतालबाट डिस्चार्ज गर्न सकिने सम्भावना रहेको छ।
केही दिनदेखि लगातार ज्वरो आएपछि स्वास्थ्य परीक्षण गर्दा ‘माइल्ड निमोनिया’ देखिएकाले चिकित्सकहरूको विशेष सुझावमा प्रचण्डलाई शनिबार बिहान ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो।
आज बिहान मात्रै प्रचण्डको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका नेपाली कम्युनिस्ट पार्टीका नेता माधव सापकोटाले उनको स्वास्थ्यमा राम्रो सुधार भइरहेको पुष्टि गरेका छन्। चिकित्सकहरूको भनाइ उद्धृत गर्दै नेता सापकोटाले सुधारको गति हेर्दा भोलिसम्ममा डिस्चार्ज हुनसक्ने जानकारी दिए।
प्रचण्ड यही जेठ ७ र ८ गते सुदूरपश्चिमस्तरीय पार्टी प्रशिक्षण कार्यक्रममा सहभागी भई धनगढीबाट फर्किएलगत्तै अस्वस्थ भएका थिए। धनगढीको अत्यधिक गर्मीका कारण पसिनाले कपडा भिजेको र काठमाडौं फर्किएको भोलिपल्टदेखि नै ज्वरो आउन सुरु गरे पनि उनी निरन्तर पार्टीका काममा सक्रिय रहेका थिए। पछि स्वास्थ्यमा थप असहजता महसुस भएपछि मात्र उनलाई अस्पताल पुर्याइएको हो।
यसैबीच, अस्पतालमै पुगेर प्रचण्डलाई भेटेका युवा नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ले पनि सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्षको स्वास्थ्य अवस्था सामान्य र सुधारोन्मुख रहेको प्रष्ट पारेका छन्। हल्का निमोनिया देखिएकाले अहिले अस्पतालमै राखेर उपचार भइरहेको र भोलिसम्ममा डिस्चार्ज हुने उनले उल्लेख गरेका छन्।
यसअघि स्वास्थ्य अवस्था अनुकूल नरहेकै कारण प्रचण्ड जेठ १५ गते बजेट सार्वजनिक हुने विशेष दिनमा समेत संघीय संसदको बैठकमा उपस्थित हुन सकेका थिएनन्।







डिसी नेपाल







Facebook Comment