आँखामा खुर्सानी हालेर लुटपाट गर्ने दुई ‘सिरियल’ लुटेरा पक्राउ

डिसी नेपाल
१७ जेठ २०८३ १५:२६

काठमाडौं । काठमाडौंको सुकेधारामा एक महिलाको आँखामा खुर्सानीको धुलो हालेर लुटपाट गरी फरार भएका दुई जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बिहीबार दिउँसो सवा १ बजेको समयमा सुकेधारामा महिलालाई लुटेर फरार भएका उनीहरूलाई सोही दिन राति सवा ९ बजे जडिबुटीस्थित मनोहरा खोला करिडोरबाट नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–३ चपली भद्रकाली बस्ने ४० वर्षीय गणेश कार्की र इलाम घर भई काठमाडौंका विभिन्न धर्मशालामा बस्दै आएका ३१ वर्षीय विष्णु गुरुङ रहेका छन्।

मनोहरा करिडोरमा घेरा हाली नियन्त्रणमा लिने क्रममा मुख्य अभियुक्त गणेश कार्कीले प्रहरी टोलीमाथि नै खुर्सानीको धुलो छ्यापेर खुकुरी प्रहार गर्ने प्रयास गरेका थिए। प्रहरीले तत्कालै प्रतिकार गरी उनलाई नियन्त्रणमा लिन सफल भएको हो।

प्रहरीले कार्कीको साथबाट लुटिएको एक थान सुनको सिक्री, एक थान मोबाइल र आक्रमणमा प्रयोग गर्न खोजिएको एक थान खुकुरी समेत बरामद गरेको छ। पक्राउ परेका दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा पक्राउ परेका कार्कीको डरलाग्दो र लामो आपराधिक पृष्ठभूमि खुलेको छ। उनी वि.सं. २०७९ सालमा डाँका चोरी मुद्दामा ६ वर्ष कैद सजाय तोकिएर केन्द्रीय कारागार जगन्नाथदेवलमा सजाय भुक्तान गरिरहेका कैदी हुन्। तर, उनी गत २०८२ साल भदौ २४ गते कारागारको पर्खाल नाघेर फरार भएका थिए।

कारागारबाट भागेपछि उनी झन् आक्रामक रूपमा प्रस्तुत हुँदै काठमाडौंका विभिन्न स्थानमा ‘फेक प्रहरी’ बनेर र सर्वसाधारणको आँखामा खुर्सानी हालेर शृङ्खलाबद्ध लुटपाट मच्चाउन सक्रिय भएका थिए।

कारागारबाट फरार भएपछि उनले काठमाडौंको कपनमा प्रहरी टोलीमाथि नै खुर्सानीको धुलो फालेर आक्रमण गरेका थिए। यसैगरी, उनले गत असोज ७ गते गौशालास्थित एक बिजुली पसलमा चोरी गरेका थिए भने गत माघ ११ गते गौशालामै वैदेशिक रोजगारीमा जाने एक व्यक्तिको नगद ५ हजार रुपैयाँ र मोबाइल फोन लुटेका थिए।

उनको बदनामी यतिमा मात्र सीमित थिएन, उनले गत चैत महिनामा शान्तिनगरमा मोबाइल लुटपाट गर्नुका साथै सुन्दरीजलको पार्किङ स्थलबाट स्कुटर समेत चोरी गरेका थिए।

विशेष गरी तिलगंगा, जोरपाटी र पशुपति मन्दिर आसपासको क्षेत्रमा साँझपख “म प्रहरी हुँ” भन्दै सर्वसाधारण तथा लागूऔषध दुर्व्यसनीहरूलाई धम्क्याएर नगद तथा लागूऔषध लुट्नु उनको नियमित धन्दा बनेको थियो। उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासको क्षेत्रमा वैदेशिक रोजगारीमा जाने सोझासिधा नेपालीहरूलाई समेत नक्कली प्रहरी बनेर दुःख दिने र लुटपाट गर्ने गरेका थिए।

प्रहरी रेकर्ड अनुसार कार्की विगत १९ वर्षदेखि निरन्तर अपराध कर्ममा संलग्न रहँदै आएका छन्। उनले वि.सं. २०६४ मंसिर ९ गते प्रहरी वृत्त बौद्धमा अभद्र व्यवहार र सोही वर्षको पुस ८ गते प्रहरी वृत्त बालाजुमा हातहतियार खरखजाना मुद्दा खेपेका थिए।

उनी वि.सं. २०६८ वैशाख २ गते प्रहरी वृत्त बौद्ध क्षेत्रमा भएको कर्तव्य ज्यान (हत्या) मुद्दामा दोषी ठहर भई वि.सं. २०७८ असोज ३ गतेसम्म १० वर्ष जेल सजाय भुक्तान गरेर निस्किएका व्यक्ति हुन्।

जेलबाट छुटेको पाँच महिनामै उनी पुनः अपराधमा फर्किएका थिए। उनलाई वि.सं. २०७८ फागुन ३ गते जिल्ला प्रहरी परिसर ललितपुरले चोरी मुद्दामा र फागुन २६ गते प्रहरी वृत्त गौशालाले डाँका चोरी मुद्दामा पक्राउ गरेको थियो।

कर्तव्य ज्यान जस्तो गम्भीर मुद्दामा १० वर्ष जेल बसेर निस्किएका कार्की सुधारिनुको साटो कारागारबाटै फरार भई उपत्यकामा आतंकको पर्याय बनेको अवस्थामा प्रहरीले उनलाई पुनः हतियारसहित नियन्त्रणमा लिन सफल भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *