गुजरातलाई हराउँदै बेंगलुरु लगातार दोस्रो पटक आईपीएल च्याम्पियन, कोहलीको सानदार ७५ रन
काठमाडौं। साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को उपाधि जितेको छ। आइतबार राति भएको फाइनल भिडन्तमा गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै बेंगलुरुले उपाधि रक्षा गरेको हो।
अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको फाइनल खेलमा गुजरातले दिएको १५६ रनको मध्यम लक्ष्य बेंगलुरुले १८ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो।
बेंगलुरुको जितमा प्रारम्भिक ब्याटर विराट कोहलीले कप्तानी इनिङ खेले। उनले मात्र ४२ बलमा ९ चौका र ३ छक्काको मद्दतले सर्वाधिक ७५ रनको अविजित पारी खेले। त्यस्तै, भेनकटेश अय्यरले ३२ रनको योगदान दिए। गुजरातका लागि राशिद खानले २ विकेट लिए भने मोहम्मद सिराज, कगिसो रबाडा र अर्शद खानले १–१ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५५ रन बनाएको थियो। गुजरातका लागि वासिङ्टन सुन्दरले सर्वाधिक ५० रनको अविजित अर्धशतकीय योगदान दिए। यस्तै निशान्त सिन्धुले २० तथा जस बट्लरले १९ रन जोडे।
गुजरातलाई मध्यम स्कोरमा रोक्न बेंगलुरुका रसिख सलामले घातक बलिङ गरे। उनले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए। जोश हेजलवूड र भुवनेश्वर कुमारले २–२ तथा क्रुनाल पान्ड्याले १ विकेट लिए।
यसअघि पहिलो क्वालिफायरमा पनि बेंगलुरुले गुजरातलाई नै पराजित गरेको थियो भने लिग चरणमा पनि बेंगलुरु शीर्ष स्थानमा रहेको थियो। बेंगलुरुले गत संस्करणको फाइनलमा पन्जाब किङ्सलाई हराउँदै पहिलोपटक आईपीएलको उपाधि जितेको थियो।
आईपीएलको इतिहासमा लगातार दुई पटक उपाधि जित्ने बेंगलुरु तेस्रो टोली बनेको छ। यसअघि चेन्नई सुपर किङ्सले सन् २०१० र २०११ तथा मुम्बई इन्डियन्सले सन् २०१९ र २०२० मा लगातार उपाधि जितेका थिए।
आईपीएलमा सर्वाधिक उपाधि जित्ने कीर्तिमान चेन्नई र मुम्बईको नाममा छ। दुवै टोलीले ५–५ पटक ट्रफी उचालेका छन्। यस्तै कोलकाता नाइट राइडर्सले ३ पटक तथा राजस्थान रोयल्स, डेक्कन चार्जर्स, सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सले १–१ पटक उपाधि जितेका छन्। बेंगलुरु दुई उपाधिसहित चौथो सफल टोली बनेको छ।







डिसी नेपाल







Facebook Comment