घरबाट हराएकी २१ वर्षीया रमाको बोरामा प्याक गरिएको शव भेटियो

डिसी नेपाल
१८ जेठ २०८३ ९:३९

दमक (झापा) । गत जेठ १३ गते बुधबारको त्यो रात २१ वर्षीया रमा (रोमा) तिवारीका लागि अन्तिम रात बन्ला भनेर परिवारले सोचेकै थिएन।

राति साढे ९ बजेतिर घरबाटै अचानक बेपत्ता भएकी रमा अन्ततः कहिल्यै नफर्कने गरी अस्ताएकी छिन्। हराएको तीन दिनपछि शनिबार बिहान रतुवा खोलाको किनारमा उनको विभत्स अन्त्यको कथा सार्वजनिक भयो।

दमक नगरपालिका–८ बसन्त टोलका नारायण र मुना तिवारी दम्पतीले जेठको टन्टलापुर घाममा रतुवा खोलाको पुलमुनि पुगेर आफ्नै मुटुको टुक्रालाई चिन्नुपर्‍यो— त्यो पनि एउटा सेतो प्लास्टिकको बोराभित्र पोको पारिएको अवस्थामा।

शवको प्रकृति र घटनास्थलको अवस्थाले यो सामान्य मृत्यु नभई क्रुर हत्या भएको बुझाउँछ। प्रहरीको प्रारम्भिक अनुमान अनुसार अपराधीहरूले रमाको हत्या अन्यत्रै गरेर, प्रमाण लुकाउने नियतले शवलाई पुलमाथिबाट खोलामा खसालेका थिए।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी खगेन्द्र खड्काका अनुसार यस रहस्यमयी घटनाको पर्दाफास गर्न प्रहरीले आफ्ना संयन्त्रहरूलाई विभिन्न कोणबाट परिचालन गरिसकेको छ। एउटा युवा जीवनको यसरी बोरामा पोको पारिएर भएको अन्त्यले यतिबेला दमक क्षेत्र स्तब्ध बनेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *