खतरनाक भाइरसको महामारीबाट, ४८ जनाको मृत्यु, ३२१ संक्रमित
काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र काङ्गो (डीआरसी) तथा युगान्डासहित पूर्वी अफ्रिकी मुलुकहरूमा इबोला भाइरसको नयाँ प्रकोप तीव्र गतिमा फैलिएपछि जनस्वास्थ्य संकटकाल घोषणा गरिएको छ।
अफ्रिका सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (अफ्रिका सीडीसी) र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार हालसम्म यस प्राणघातक रोगका कारण ३२१ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ भने करिब १ हजार १०० भन्दा बढी संदिग्ध मामिलाहरू फेला परेका छन्।
सङ्क्रमण काङ्गोका तीनवटा फरक-फरक प्रान्तहरूमा फैलिसकेको र यस रोगका कारण हालसम्म ४८ जनाको मृत्यु भइसकेको सरकारी तथ्याङ्कले देखाएको छ। अहिले फैलिरहेको महामारी इबोलाको अत्यधिक खतरनाक र जटिल मानिने ‘बुन्डिबुग्यो’ स्ट्रेनका कारण भएको वैज्ञानिकहरूले पुष्टि गरेका छन्।
यस स्ट्रेनको सबैभन्दा चुनौतीपूर्ण पक्ष के छ भने हालसम्म विश्वमा यस विशेष स्ट्रेनविरुद्धको कुनै पनि स्वीकृत खोप वा अकाट्य औषधि उपलब्ध छैन। महामारीको संवेदनशीलतालाई मध्यनजर गर्दै ‘कोअलिसन फर एपिडेमिक प्रिपेडनेस इनोभेसन्स’ नामक अन्तर्राष्ट्रिय संस्थाले युद्धस्तरमा खोप निर्माण कार्य अघि बढाउन ६० मिलियन अमेरिकी डलर (करिब ७ अर्ब ९० करोड नेपाली रुपैयाँ) को आपत्कालीन आर्थिक प्याकेज घोषणा गरेको छ।
यस अभियान अन्तर्गत फर्मास्युटिकल कम्पनीहरूलाई आम मानिसमा परीक्षण (क्लीनिकल ट्रायल) गर्न मिल्ने गरी द्रुत गतिमा खोप उत्पादन गर्ने जिम्मेवारी दिइएको छ। खोप विकासको यस विश्वव्यापी दौडमा अमेरिकी फर्मास्युटिकल कम्पनी ‘मोडर्ना’ लाई प्रारम्भिक क्लिनिकल परीक्षण र उत्पादनका लागि सबैभन्दा ठूलो हिस्सा अर्थात् ५० मिलियन डलर उपलब्ध गराइएको छ।
त्यसैगरी, बेलायतको अक्सफोर्ड विश्वविद्यालय र भारतको ‘सिरम इन्स्टिच्युट अफ इन्डिया’ को संयुक्त परियोजनालाई ८.६ मिलियन डलर तथा ‘इन्टरनेसनल एड्स भ्याक्सिन इनिसिएटिभ’ लाई यस रणनीतिक अनुसन्धानका लागि वित्तीय सहयोग हस्तान्तरण गरिएको छ।
यस संकटपूर्ण परिस्थितिमा भारतको सिरम इन्स्टिच्युट र अक्सफोर्ड विश्वविद्यालयले विकास गरिरहेको ‘ChAdOx1 Bundibugyo’ नामक खोपप्रति विश्व समुदायले ठूलो आशा राखेको छ। यो खोप त्यही ‘भाइरल भेक्टर’ प्रविधिमा आधारित छ, जसको प्रयोग कोभिड–१९ को महामारीका समयमा अक्सफोर्ड-एस्ट्राजेनेका (भारतमा ‘कोभिशिल्ड’) खोप निर्माण गर्दा गरिएको थियो।
सीईपीआईका प्रमुख रिचर्ड ह्याचेटका अनुसार वैज्ञानिक संयन्त्र र उत्पादक कम्पनीहरूको तीव्र कार्यसम्पादनका कारण आगामी केही महिनाभित्रै यो नयाँ खोप मानव परीक्षणका लागि उपलब्ध हुन सक्ने अनुमान गरिएको छ।







डिसी नेपाल







Facebook Comment