कविता : ढल्दै गइरहेको जीवन
आजको दिन भोलिमा ढल्दै
गइरहेको छ
सारा दिन र रातहरू बिस्तारै
बदलिरहेछन्
रातमा सन्नाटा दिनमा
उज्यालो भइरहेछ
सुतिरहेका कोही रातमा आराम
लिइकन
कोही दिनमा आफ्नो काम सधैँ
गरेर
सारा बगैँचाका फूल मस्त
सुतिरहेका छन्
चन्द्रमा चाँदनी रातमा
अस्ताइरहेकी छिन्
समयको गतिमा मानिस जन्मिइरहेछन्
समयकै गतिमा मानिस मरिरहेका छन्
हिजो जे थियो आज त्यो कहाँ कता गयो
आजको दिन समय फेरि ढल्दै कहाँ सर्यो
मानिस बदलिएको छ, समय बदलिएको छ
ढाँचा बदलिएको छ साथै दिन बदलिरहेको छ
रात र दिन यसरी नै बिस्तारै
बिस्तारै ढलिरहेछ
रातमा आँखा सुत्न खोज्छ
आँखा बन्द गरेर
सूर्योदयको उज्यालोमा सबै
उठ्छन् जुर्मुराएर
हाँसीखेली रमाउने यो जीवन कसरी फेरि रुवाउँछ
जन्मिने र मर्ने गर्छन्, किन यो मानिस पछुताउँछ
जीवन ढल्दै गइरहेको छ
यसलाई धेरै नगिझोल्नु
बाधा-अड्चन कुनै भए त्यसलाई
बिस्तारै सम्हाल्नु
जन्म जो मानिसले लिन्छ
आफ्नो महत्त्व बुझ्नु
के कर्म गर्न पठाएको हो
त्यो काम र कर्म गरिरहनु
ढल्दै जाने जीवनको कसको कहाँ के छ र भरोसा
कर्म नै मानिसको ठूलो काम हो, लिनु सबैले दीक्षा
कति आए कति गए यो धर्तीमा अझ कति जानु छ
ढल्दै गइरहेको जीवनमा अझ कतिन्जेल बाँच्नु छ
को धनी को गरिब, मानिसमा सबै जना समान छन्
कोही रुखोसुखो खाई बस्छन्, कोही ठूला धनी छन्
सबैले गर्नु काममा होस, जहाँ जुनसुकै काम गर्दा पनि
जिएर संसारमा बसी अन्तमा सबैले सम्झून् मर्दा पनि
हरियो मुलायम पातको मुना सुकी जसरी खङ्ग्रङ्ग बन्दछ
त्यसरी नै यो जीवन पनि घाटमा कक्रक्क बनी ढल्दछ
ढल्दै गइरहेको जीवन निरन्तर अस्ताउँदै गर्दछ
यो बितिरहेको समयमा सबै आउने-जाने गर्दछ
यो बितिरहेको समयमा सबै आउने-जाने नै गर्दछ।












Facebook Comment