कतारको अमेरिकी सैन्य अड्डामा इरानी मिसाइल आक्रमण, रक्षा प्रणालीद्वारा अधिकांश क्षेप्यास्त्र विफल
दोहा। कतारस्थित अमेरिकी सैन्य अड्डा ‘अल उदैद एयर बेस’ लाई लक्षित गरी आज बिहान ३:३० बजे दुई पटक भीषण इरानी मिसाइल आक्रमण भएको छ।
कतारको रक्षा मन्त्रालयका अनुसार त्यहाँ तैनाथ वायु प्रतिरक्षा प्रणालीले तत्काल सक्रियता देखाउँदै अधिकांश मिसाइलहरूलाई बीचमै सफलतापूर्वक अवरोध गरी विफल पारेको थियो। मिसाइल आक्रमण लगत्तै कतारी गृह मन्त्रालयले देशको सुरक्षा सतर्कतालाई उच्च बनाउँदै केही समयका लागि आफ्ना नागरिक तथा बासिन्दाहरूलाई घरभित्रै सुरक्षित रूपमा बस्न विशेष आग्रह गरेको थियो।
मन्त्रालयले घटनास्थलको प्रारम्भिक मूल्याङ्कन र प्राप्त विवरणलाई उद्धृत गर्दै क्षेप्यास्त्र अवरोध गर्ने क्रममा आकाशबाट खसेका भग्नावशेष लागेर एक बालबालिका घाइते भएको र उनको हाल आवश्यक उपचार भइरहेको जनाएको छ।
यसैबीच, गृह मन्त्रालयले आम सर्वसाधारणलाई आधिकारिक स्रोतबाट प्राप्त हुने जानकारीमा मात्र विश्वास गर्न जोडदार अपिल गरेको छ।
बजारमा आउन सक्ने सम्भावित हल्ला, पुष्टि नभएका भ्रामक सूचना, तस्बिर वा भिडियो सामग्रीहरू सामाजिक सञ्जालमा साझा नगर्न आग्रह गर्दै मन्त्रालयले यस्ता गैरकानुनी गतिविधिमा संलग्न हुनेहरूमाथि कडा कानुनी कारबाही गरिने चेतावनी समेत दिएको छ। मन्त्रालय अन्तर्गतका सम्पूर्ण सुरक्षा निकायहरू चौबीसै घण्टा पूर्ण तयारीका साथ मैदानमा परिचालित रहेको स्पष्ट पारिएको छ।
समुदायको जिउधनको सुरक्षा सुनिश्चित गर्न, आकस्मिक परिस्थितिमा तत्काल प्रतिक्रिया जनाउन तथा सार्वजनिक सेवाहरूलाई बिनाकुनै अवरोध अविच्छिन्न रूपमा सञ्चालन गर्न राज्यका सबै संयन्त्रहरू सक्रिय रूपमा लागिपरेका छन्।






डिसी नेपाल





Facebook Comment