किम जोङ उनकी आमाको रहस्य: वंशको सर्वोच्चता र ‘दागी’ विगतको गोपनीयता
काठमाडौं । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँग जोडिएका तमाम रहस्यमयी पाटाहरूमध्ये उनकी आमालाई लिएर अपनाइएको गोपनीयता सबैभन्दा फरक र अनौठो मानिन्छ। सत्तामा १५ वर्ष पूरा भइसक्दा पनि किमले कहिल्यै सार्वजनिक रूपमा आफ्नी आमाको नाम उच्चारण गरेका छैनन्।
उत्तर कोरियाको वंशानुगत तानाशाहीको वैधता ‘माउन्ट पेक्टु’ वंशमा टिकेको छ। यो कोरियाली प्रायद्वीपको सबैभन्दा अग्लो पहाड हो, जसलाई कोरियालीहरूको पौराणिक जन्मस्थल मानिन्छ। यही त्यो ऐतिहासिक स्थल पनि हो, जहाँ देशका संस्थापक किम इल सुङले जापानी उपनिवेशवादीहरूविरुद्ध गुरिल्ला युद्ध सञ्चालन गरेका थिए।
देशका संस्थापक किम इल सुङकी आमा काङ पान सोक र किम जोङ इलकी आमा किम जोङ सुकलाई ‘कोरियाका आमाहरू’ का रूपमा राज्यस्तरबाटै उच्च सम्मान प्रदान गरिएको छ। तर, वर्तमान नेता किम जोङ उनकी आमा को योङ हुई भने अझै पनि एक अज्ञात व्यक्तित्वका रूपमा छिन्, जसको नाममा देशमा कुनै पनि इतिहास कोरिएको छैन।
को योङ हुईको विषयमा अख्तियार गरिएको यो मौनता सम्भवतः उनको सामाजिक वर्गलाई ‘दागी’ मानिने र उनलाई उपपत्नी ठानिने कुरासँग जोडिएको छ। विश्लेषकहरूका अनुसार यी तथ्यहरू सार्वजनिक हुनु वर्तमान शासनका लागि खतरा बन्न सक्छ।
जीवनीकारहरूका अनुसार को-को जन्म सन् १९५२ मा जापानको ओसाकामा भएको थियो। उनका माता-पिता मूल रूपमा आधुनिक दक्षिण कोरियाको जेजु टापुका बासिन्दा थिए, जसलाई उत्तर कोरियाले शत्रु इलाका मान्दछ।
जापानमा बसोबास गर्ने को-को परिवारलाई ‘जाइनिची कोरियाली’ भनिन्थ्यो। यी ती मानिसहरू थिए, जो सन् १९१० देखि १९४५ सम्म जापानको औपनिवेशिक शासनका क्रममा त्यहाँ विस्थापित भएका थिए।
उत्तर कोरिया फर्कने यी परिवारहरूलाई सुरुमा ईर्ष्याको नजरले हेरियो, किनभने उनीहरू पूँजीवादी छिमेकी देशबाट नगद, कपडा र घरायसी सामान लिएर आउँथे। तर, उनीहरूलाई ‘ज्जैपो’ भनेर पनि बोलाइन्थ्यो। यो ती मानिसहरूका लागि प्रयोग गरिने एउटा अपमानजनक शब्द थियो, जसलाई विदेशी र खतरनाक विचारधाराहरूबाट दूषित मानिन्थ्यो।
उत्तर कोरियामा एउटा कडा सामाजिक वर्गीकरण प्रणाली विद्यमान छ, जसलाई ‘सोंगबुन’ भनिन्छ।
यस प्रणाली अन्तर्गत जाइनिची कोरियालीहरू ‘अस्थिर वर्ग’ मा पर्छन्, जुन मुख्य वर्ग र शत्रु वर्गको बीचको तह हो। उनीहरूमाथि राज्यको कडा निगरानी रहन्छ र अक्सर उनीहरूलाई प्रतिष्ठित विश्वविद्यालय वा उच्च ओहोदाका जागिरहरूमा प्रवेश निषेध गरिन्छ।
उत्तर कोरिया एउटा गहिरो स्तरसम्म वर्गीकृत समाज हो, जसलाई केही विश्लेषकहरू जाति व्यवस्था जस्तै प्रणालीका रूपमा चित्रण गर्छन्।
डोङयाङ विश्वविद्यालयका डा. जियोंग यंग-ताएका अनुसार यो ‘सम्बन्धका आधारमा दोषारोपण गर्ने व्यवस्था’ पनि हो, जहाँ नागरिकहरूले आफ्ना परिवारका सदस्यहरूको विगतका कार्यहरूको सजाय भोग्नुपर्छ।
जब को करिब १० वर्षकी थिइन् तब उनको परिवार उत्तर कोरिया बसाइँ सरेको थियो। उनको परिवार ती अनुमानित ९३,००० कोरियाली नागरिकहरूमा सामेल थियो, जो सन् १९५९ देखि १९८४ को बीचमा जापानबाट कम्युनिष्ट देश उत्तर कोरिया पुगेका थिए।
ती मानिसहरू ‘पृथ्वीमा स्वर्ग’ अभियान अन्तर्गत उत्तर कोरिया पुगेका थिए। यो एउटा यस्तो सरकारी योजना थियो, जसमा फर्कनेहरूका लागि नि:शुल्क स्वास्थ्य सेवा, शिक्षा र रोजगारीका साथै आदर्श जीवनको प्रतिज्ञा गरिएको थियो।
तर, को-ले आफ्ना अन्य जाइनिची कोरियाली साथीहरूले जस्तो कठिनाइ र गरिबीको जीवन बिताउनु परेन, किनभने उनी तत्कालीन सर्वोच्च नेता किम जोङ इलको ध्यान आफूतिर आकर्षित गर्न सफल भएकी थिइन्।
यद्यपि, किमले कहिल्यै सार्वजनिक रूपमा आफ्नी पत्नी वा सहयात्रीका रूपमा उनलाई प्रस्तुत गरेनन्। गुप्तचर सूचनाहरूका अनुसार, त्यस समयमा उनले पहिले नै एक उच्च सैन्य अधिकारीकी छोरी किम योंग सुकसँग विवाह गरिसकेका थिए, जुन विवाह उनका पिताले तय गरिदिएका थिए।
जापानी पत्रकार योजी गोमीको सन् २०२५ मा को-माथि केन्द्रित एउटा पुस्तक प्रकाशित भएको छ।
उनका अनुसार को अभिजात वर्गको ‘मन्सुदे आर्ट ट्रुप’ की सदस्य थिइन्। आफ्नो ‘स्वाभाविक सौन्दर्य र नृत्य कौशल’ का कारण उनी किमको नजरमा परेकी थिइन्। उनले सर्वोच्च नेतासँग कहिल्यै औपचारिक विवाह गरिनन्, न त उनको सम्बन्धलाई कहिल्यै शासनले मान्यता दियो, तर गोमीका अनुसार को-ले ‘सिन्ड्रेला जस्तो विलासी जीवन’ बिताइन्।
विभिन्न रिपोर्टहरूका अनुसार, किम धेरै गहिरो गरी को-को प्रेममा परेका थिए, जो कालान्तरमा देशको राजनीतिमा समेत चासो लिन थालेकी थिइन्।
उनकी आधिकारिक पत्नी राजधानी प्योङयाङमा बस्थिन्, जबकि को र उनका तीन बच्चाहरू २१० किलोमिटर टाढा तटीय शहर वोनसानमा बस्ने गर्दथे।
उत्तरी रिसर्च एसोसिएसनका किम ह्यङ-सु भन्छन्, “किम जोङ उन आधिकारिक पत्नीका छोरा होइनन्। उनी मूलतः को योङ हुईका ‘नाजायज छोरा’ हुन्।” उनी थप्छन्, “शासनको पेक्टु वंश पवित्र मानिन्छ, त्यसैले नेता एउटा ‘ज्जैपो’ को छोरा हुन् भन्ने कल्पना गर्नु पनि त्यहाँ असम्भव प्रायः हुन्छ।”
उत्तर कोरियामा विवाहइतर जन्मिएका बच्चाहरूले ठूलो सामाजिक कलङ्क झेल्नुपर्छ।
कम्युनिष्ट देखाइनुका बावजुद यो देश गहिराइसम्म कन्फ्युसियस मान्यताहरूमा डुबेको छ। विश्लेषकहरू भन्छन् – पुत्र धर्म र निष्ठा जस्ता शास्त्रीय अवधारणाहरूको प्रयोग जनतालाई वैचारिक रूपमा बाँध्नका लागि गरिएको हो।
पत्रकार गोमी किम जोङ उन राजधानीभन्दा टाढा हुर्कनुको अर्को एउटा कारण खोल्छन्। त्यस समयमा वोनसान र जापानको बीचमा फेरी (पानीजहाज) चल्ने गर्दथ्यो, जसले गर्दा को-का लागि त्यहाँ आउने मानिसहरूलाई भेट्न र जापानी सामानहरू प्राप्त गर्न सजिलो हुन्थ्यो।
उनी भन्छन्, “को जापानको आफ्नो पुरानो घरलाई धेरै सम्झन्थिन् र उनले आफ्ना बच्चाहरूलाई जापानी भाषा समेत सिकाएकी थिइन्।”
केन्जी फुजिमोटो, एक जापानी सुशी शेफ थिए जसले सन् १९८८ देखि २००१ सम्म किम जोङ इलका लागि काम गरेका थिए। उनी आफ्नो पुस्तकमा लेख्छन् – किम जोङ उन ‘जापानी गीतहरू निकै राम्रो गाउँथे’ र ‘जापानको उन्नत अर्थव्यवस्थाप्रति ईर्ष्या गर्थे’।
जापानी सञ्चारमाध्यमका अनुसार, किम जोङ उन आफ्ना दाजुसँग जापानको टोक्यो डिज्नील्याण्डको भ्रमणमा समेत गएका थिए। गोमीका अनुसार को आफैं पनि आफ्ना सचिवका साथ छुट्टै जापान गएकी थिइन्।
उत्तर कोरियाका निर्वासित पूर्व कूटनीतिज्ञ र्यु ह्युन-वूले आफ्नो पुस्तक ‘किम जोङ उन्स सीक्रेट भल्ट’ मा लेखेका छन्, “को योङ हुईलाई देशका बुढा नेता किम इल सुङले कहिल्यै बुहारीको रूपमा स्वीकार गरेनन्।”
सेजोङ इन्स्टिच्युटका डा. चियोंग सियोंग-चांग भन्छन् – यदि को-लाई वृद्ध किमको स्वीकृति मिलेको भए, किम इल सुङ र उनका नाति किम जोङ उनको तस्बिरहरू देशव्यापी रूपमा प्रचार गरिने थियो।
यद्यपि यस्तो भएन, तर को-ले किम जोङ इलको पूर्ण विश्वास जितेकी थिइन्। उनी देशको वास्तविक प्रथम महिलाको भूमिकामा सक्रिय रहन्थिन्। उनी आफ्ना पतिसँग सैन्य निरीक्षणहरूमा जान्थिन् र उनका राजनीतिक सहयोगीहरूसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्थिन्।
शेफ फुजिमोटोले उल्लेख गरे अनुसार किम कुनै पनि नीतिगत निर्णयहरू लिनु अघि को-को राय लिने गर्दथे।
सन् २०११ मा किम जोङ इलको मृत्युपछि निर्माण गरिएको एउटा आधिकारिक वृत्तचित्रमा को-लाई सर्वोच्च नेताका साथ स्थानीय भ्रमणहरूमा देखाइएको थियो। यद्यपि, त्यसमा उनको नाम वा उनको सोंगबुन (पारिवारिक पृष्ठभूमि) कहिल्यै उजागर गरिएन।
डा. चियोंग बताउँछन् – यो वृत्तचित्र कहिल्यै सार्वजनिक रूपमा जारी गरिएन, बरू जुन २०१२ मा केवल वरिष्ठ पार्टी अधिकारीहरूलाई मात्र देखाइएको थियो। यद्यपि पछि यो सञ्चार सामाग्री लीक भएर आम नागरिकहरूसम्म तस्करी गरिएका यूएसबी ड्राइभहरू मार्फत पुग्न सफल भयो।
उनी भन्छन्, “जब यो सामग्री फैलियो, मानिसहरूको को योङ हुईप्रतिको कौतुहलता तीव्र रूपमा बढ्न थाल्यो। यसको प्रतिक्रियास्वरूप शासनले तुरुन्तै उक्त वृत्तचित्र बजारबाट फिर्ता लियो।” उनको मान्यता छ – को-को पारिवारिक पृष्ठभूमिले शासनको वैधतामाथि गम्भीर प्रश्नहरू खडा गर्न सक्थ्यो।
यस्तो अवस्थामा उपपत्नीको कान्छो छोरा – अर्थात् किम जोङ इलको सबैभन्दा कान्छो छोरा – सत्ताको उत्तराधिकारी कसरी बन्न सफल भए त?
धेरै जीवनीकारहरूको विश्वास छ कि को-ले आफैंले सक्रिय रूपमा किम जोङ उनलाई उत्तराधिकारका लागि तयार पारेकी थिइन्।
वरिष्ठ पत्रकार अन्ना फिफिल्डले आफ्नो पुस्तक ‘द ग्रेट सक्सेसर: द सीक्रेट राइज एन्ड रुल अफ किम जोङ उन’ मा उल्लेख गरे अनुसार को-की बहिनीले उनलाई सचेत गराएकी थिइन् कि जोङ उन अर्को नेता बन्नै पर्छ, अन्यथा उनीहरूको सम्पूर्ण परिवार खतरामा पर्नेछ।
गोमीका अनुसार किम जोङ इलका जेठा छोरा, किम जोङ नाम, सुरुवातमै सर्वोच्च नेता बन्ने दौडबाट बाहिरिएका थिए, किनभने उनले उत्तर कोरियाको वंशानुगत उत्तराधिकार प्रणालीमाथि प्रश्न उठाउँदै सुधारको वकालत गरेका थिए।
गोमीले वर्षौँसम्म जोङ नामसँग इमेलमा संवाद गरेका थिए। जोङ नामको यस्तो राजनीतिक विचार सायद विदेशमा एक दशकसम्म अध्ययन गरेको परिणाम थियो। उनी फ्रेन्च र अंग्रेजी धाराप्रवाह बोल्थे र अक्सर क्यासिनो जाने तथा विलासी जीवनशैलीका कारण ‘पार्टी प्रेमी व्यक्ति’ का रूपमा चिनिन्थे।
जोङ नाम उत्तर कोरिया फर्किएपछि पनि को योङ हुईद्वारा आफ्ना बच्चाहरूलाई उत्तराधिकारका लागि स्थापित गर्न खोजिएको हल्लाहरू चलिरहे। पूर्व कूटनीतिज्ञ र्युको पुस्तक अनुसार उनका माइला छोरा, जोङ चुल अफीमको गम्भीर लतका कारण उत्तराधिकारी बन्न सकेनन्। उनका अनुसार एक पटक जोङ चुलले बिहान-बिहानै उनको ढोका ढकढक्याएर अफीम मागेका थिए।
विश्लेषकहरू भन्छन् – किम जोङ उन आफ्नो उत्कृष्ट नेतृत्व क्षमता र प्रतिस्पर्धी स्वभावका कारण पिताको सबैभन्दा प्रिय पात्र बनेका थिए। को-की बहिनी र उनका पतिलाई किम र उनका दाजुको हेरचाहको जिम्मा सुम्पिएको थियो, जब उनीहरू स्विट्जरल्याण्डमा अध्ययन गरिरहेका थिए। तर सन् १९९८ मा, जब को-लाई स्तन क्यान्सर भएको पत्ता लाग्यो, यो दम्पती अमेरिकातर्फ पलायन भयो।
वासिङ्टन पोस्टको सन् २०१६ को एक लेखका लागि उनीहरूको अन्तर्वार्ता लिइएको थियो। त्यसका अनुसार उनीहरूलाई डर थियो कि “अब शासनलाई धेरै समयसम्म उनीहरूको आवश्यकता रहने छैन।”
यद्यपि किम जोङ उन अन्ततः उत्तराधिकारी बन्न सफल भए, तर उनीहरूको आशंका सही साबित भयो। सत्तामा आएपछि किमले आफ्ना एक काकालाई मृत्युदण्ड दिए भने दाजु जोङ नामको मलेसियामा हत्या गरियो।
को-को मृत्यु किम जोङ इल भन्दा पहिले नै भएको थियो, तर पेरिसको एक अस्पतालमा भएको उनको निधनलाई उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले कतै पनि स्थान दिएनन्।
विश्लेषकहरूका अनुसार किम जोङ उनको यही गुप्त र विवादित वंशावली नै सायद मुख्य कारण हो, जसका कारण उनको जन्मदिनलाई अहिलेसम्म राष्ट्रिय बिदा घोषित गरिएको छैन, जबकि उनका हजुरबुबा र पिताको जन्मदिनमा देशव्यापी बिदा हुने गर्दछ। उनको जन्मको विवरणमा बढी ध्यान केन्द्रित गर्दा उनकी आमा र उनलाई प्योङयाङ बाहिर किन हुर्काइयो भन्ने असजिलो प्रश्नहरू उठ्न सक्छन्।
शोधकर्ता किम भन्छन्, “सत्य बाहिर आयो भने शङ्काको आगो डढेलो जस्तै फैलिन सक्छ।”
पूर्व कूटनीतिज्ञ र्युले लेखेका छन् – यद्यपि किम जोङ उन उत्तर कोरियाको राजनीतिक पदानुक्रम व्यवस्थाको शीर्ष स्थानमा आसिन छन्, तर उनको सोंगबुनका हिसाबले उनी सामाजिक क्रममा अपेक्षाकृत तल पर्छन्, किनभने उनको वंश जाइनिची कोरियाली र भगोडाहरूसँग जोडिएको छ।
डा. चियोंगको विश्लेषण छ – किम जोङ उनको वंशावलीलाई लिएर अपनाइएको यही अत्यधिक गोपनीयताका कारण नै उनले सत्ता सम्हाल्ने बित्तिकै आफ्नी पत्नी री सोल जूलाई सार्वजनिक रूपमा सञ्चारमाध्यमका अगाडि प्रस्तुत गरे। हाल उनी आफ्नी किशोर छोरी जू एको व्यक्तित्वलाई भावी उत्तराधिकारीका रूपमा तयार गरिरहेको देखिन्छ।
दक्षिण कोरियाको गुप्तचर संस्थाका अनुसार एक प्रतिष्ठित प्रदर्शन समूहकी पूर्व गायिका रहेकी री, प्योङयाङको उच्च-मध्यमवर्गीय स्थापित परिवारकी सदस्य हुन्। केही रिपोर्टहरूमा जनाइए अनुसार उनका पिता विश्वविद्यालयका प्राध्यापक थिए। उनलाई सरकारले शास्त्रीय गायनको उच्च अध्ययनका लागि चीन पठाएको थियो, जुन उत्तर कोरियाली समाजमा उत्कृष्ट ‘सोंगबुन’ को बलियो सङ्केत हो।
के किम जोङ उनले भविष्यमा कहिल्यै आफ्नी आमाको वास्तविक पहिचान र उत्पत्तिको खुलासा गर्लान्?
उत्तर कोरियाको कठोर प्रचार संयन्त्रका लागि पनि यो विषयलाई सम्हाल्नु र व्याख्या गर्नु निकै ठूलो चुनौती साबित हुने देखिन्छ।







डिसी नेपाल







Facebook Comment