जर्मन सहयोगमा धुलिखेलमा स्वास्थ्य, खानेपानी र सौर्य ऊर्जा परियोजना शुभारम्भ

डिसी नेपाल
२० जेठ २०८३ १८:२४

काठमाडौं । नेपाल सरकार, धुलिखेल नगरपालिका, धुलिखेल अस्पताल, यहाँस्थित जर्मन दूतावास तथा जर्मन विकास सहकार्यका प्रतिनिधिले आज धुलिखेलमा स्वास्थ्य सेवा, सामुदायिक पूर्वाधार र नवीकरणीय ऊर्जा क्षेत्रसँग सम्बन्धित तीन महत्वपूर्ण परियोजनाको संयुक्त रूपमा शुभारम्भ गरेका छन्।

कार्यक्रममा नेपालका लागि जर्मन राजदूत उडो यूजेन भोल्ज, केएफ डब्ल्यु विकास बैंक, जिआईजेड नेपालका साथै नेपाल सरकारका वरिष्ठ अधिकारी, धुलिखेल अस्पतालका प्रतिनिधि तथा स्थानीय सरोकार भएकाहरूको उपस्थिति थियो।

कार्यक्रमअन्तर्गत धुलिखेल खानेपानी आपूर्ति प्रणालीको पुनर्निर्माण सम्पन्न भएको घोषणा गर्दै धुलिखेल नगरपालिकाका कार्यवाहक प्रमुख निराजन जङ्गम र राजदूत भोल्जले संयुक्त रूपमा उद्घाटन गरेको यहाँस्थित जर्मनीको राजदूतावासले जनाएको छ।

सन् १९९२ मा स्थापना भएको उक्त प्रणालीले २० हजारभन्दा बढी स्थानीय बासिन्दाका साथै धुलिखेल अस्पताल र काठमाडौं विश्वविद्यालयलाई सुरक्षित खानेपानी उपलब्ध गराउँदै आएको छ।

गत वर्षको बाढी र पहिरोबाट प्रणालीमा क्षति पुगेपछि जर्मन सरकारले यसको पुनर्निर्माणका लागि एक लाख २० हजार युरो सहयोग उपलब्ध गराएको थियो।

त्यसैगरी, धुलिखेल अस्पतालमा अटोक्लेभसहितको नयाँ स्वास्थ्यजन्य फोहोर व्यवस्थापन उपचार केन्द्र (हेल्थकेयर वेस्ट म्यानेजमेन्ट ट्रिटमेन्ट साइट) को उद्घाटन भएको छ। अस्पतालमा वातावरणमैत्री फोहोर व्यवस्थापन प्रणालीलाई सुदृढ बनाउने उद्देश्यले स्थापना गरिएको उक्त केन्द्रमार्फत फोहरको वर्गीकरण, सङ्कलन, उपचार र सुरक्षित निस्तारणका अभ्यासलाई थप प्रभावकारी बनाइने जनाइएको छ।

जिआईजेडको सहयोगमा गत पुसदेखि अस्पतालमा स्वास्थ्यजन्य फोहर व्यवस्थापन सुधार कार्यक्रम सञ्चालन हुँदै आएको छ।

कार्यक्रमका क्रममा जर्मन सरकारको सहयोगमा केएफडब्ल्यु विकास बैंकमार्फत धुलिखेल अस्पतालमा ५०० किलोवाट क्षमताको सौर्य ऊर्जा प्रणाली जडान परियोजनाको पनि शुभारम्भ भएको छ।

परियोजना सम्पन्न भएपछि अस्पतालका आपत्कालीन सेवा, शल्यक्रिया कक्ष, प्रयोगशाला तथा अन्य महत्वपूर्ण सेवाका लागि भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित हुने अपेक्षा गरिएको छ। उक्त प्रणालीबाट वार्षिक ७७८ मेगावाट घण्टा विद्युत् उत्पादन हुने तथा अस्पतालको ऊर्जा खर्चमा वार्षिक करिब रु ९५ लाख बचत हुने अनुमान गरिएको छ।

कार्यक्रममा जर्मन पक्षले स्वास्थ्य सेवा, नवीकरणीय ऊर्जा तथा दिगो आर्थिक विकासका क्षेत्रमा नेपालसँगको दीर्घकालीन सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको थियो। जर्मनीले केएफडब्ल्यु जिआईजेडमार्फत नेपालको समावेशी, जलवायु प्रतिरोधी र दिगो विकासका प्रयासमा सहयोग गर्दै आएको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *