गलेश्वरको सडक स्तरोन्नतिः स्लेट ढुङ्गा बिछ्याइयो
म्याग्दी। बेनी नगरपालिका-९ स्थित म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल गलेश्वरको सौन्दर्यकरणका लागि बजारभित्रको सडक स्तरोन्नति थालिएको छ। सडक स्तरोन्नतिका क्रममा ढुङ्गा बिछ्याइ आकर्षक र सुविधा सम्पन्न बनाउन थालिएको हो।
हिन्दू तथा वौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल मुस्ताङको मुक्तिनाथ प्रवेशद्धार मानिने गलेश्वरको बजारभित्रको सडक र पदमार्गलाई मौलिक, व्यवस्थित र सुन्दर बनाइ पर्यटक र भक्तजन आकर्षित गर्न सौन्दर्यकरण योजना निर्माण गरी कार्यान्वयन थालिएको हो।
गत मङ्सिरमा ४८ लाख ७४ हजार २७७ मा ठेक्का सम्झौता गरेको रिभर इडेग इञ्जिनियरीङ एण्ड बिल्डर्सले लक्ष्य अघि योजना सम्पन्न गरेको बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीले बताए।
यसवर्ष गलेश्वर मन्दिरको प्रवेशद्वारबाट बसपार्कतर्फ २९५ मिटर दूरीमा स्लेट बिछ्याइएको बेनी नगरपालिकाका सवइञ्जिनियर मिलन केसीले जानकारी दिए। गतवर्ष गलेश्वर प्रवेशद्वारबाट मन्दिरतर्फ १०६ मिटर दूरीमा सात हजार १०० घनमिटर ढुङ्गा बिछ्याउनुका साथै ५३ घनमिटर पर्खाल र २० मिटर पलम नाली निर्माण भएको थियो।
“गलेश्वर बजार सौन्दर्यकरण योजना बेनी नगरपालिकाको गौरवको आयोजना हो”, वडाध्यक्ष केसीले भने, “गलेश्वर शिवालय क्षेत्र विकास कोष र बेनी नगरपालिकाको लागत साझेदारीमा योजना सञ्चालन गरिएको हो।” उनका अनुसार सडकलाई सम्माउने, नाली र पर्खाल बनाएर भुइँमा ढलान र कालोपत्रको विकल्पमा दुई इन्च बाक्लो कटिङ्ग ढुङ्गा बिछ्याएर सिमेन्टले जमाइएको छ।
मुक्तिनाथ र मुस्ताङ जाने आउने पर्यटक तथा भक्तजनलाई गलेश्वरमा भित्र्याउने र उहाँहरूको बसाइँ लम्बाउने उद्देश्यले सौन्दर्यकरण सुरु गरिएको वडाध्यक्ष केसीले बताए। गलेश्वर बजारभित्रको सडकमा ढुङ्गा बिछ्यापछि सार्वजनिक यातायातलाई बजार बाहिरको कालिगण्डकी कोरिडोर खण्डबाट मात्र आवतजावतको व्यवस्था मिलाइएको उनले जानकारी दिए।
भुइँमा बिछ्याइने ढुङ्गामा असर नपर्ने गरी, बजारभित्र निर्माण सामग्री र उपभोग्य सामग्री आपूर्तिका सवारीसाधन सञ्चालन गर्न मिल्ने संरचनाको डिजाइन गरिएको सवइञ्जिनियर केसीले जानकारी दिए।
कालीगण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलको एउटा विशाल चट्टानमाथि रहेको गलेश्वर मन्दिरमा पूजाआजा र दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने र पुण्य मिल्ने धार्मिक विश्वास रहेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए।
हिन्दू धर्म ग्रन्थमा सतीदेवीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको यस मन्दिरमा साउन महिनाको सोमबार, बालाचर्तुदशी र शिवरात्री पर्वमा विशेष मेला लाग्ने छ। दैनिक नित्य पूजाआजा हुने गर्दछ। रासस







डिसी नेपाल







Facebook Comment