एआईजी शाहद्वारा मधेस प्रदेश प्रहरी तालिम केन्द्रको निरीक्षण

डिसी नेपाल
२१ जेठ २०८३ १८:३३

रौतहट । नेपाल प्रहरीका एआईजी शिद्धी विक्रम शाहले मधेस प्रदेश प्रहरी तालिम केन्द्रमा स्थलगत निरीक्षण गर्दै तालिमको गुणस्तर, भौतिक संरचना र समग्र प्रशिक्षण गतिविधिबारे विस्तृत जानकारी लिएका छन्।

नेपाल प्रहरीको तालिम सञ्चालन कार्यादेश २०७९ बमोजिम सञ्चालित विभिन्न प्रशिक्षण कार्यक्रमहरूको अवस्था बुझ्न गरिएको निरीक्षणका क्रममा उनले कक्षागत अभ्यास, प्रशासनिक व्यवस्था तथा विभिन्न शाखाहरूको कार्यप्रणालीको सूक्ष्म अवलोकन गरेका थिए।

निरीक्षणकै क्रममा एआईजी शाहले सेवाकालिन तथा आधारभूत तालिममा सहभागी प्रशिक्षार्थी र कार्यरत प्रहरी कर्मचारीलाई समसामयिक सुरक्षा चुनौती, अनुशासन र व्यावसायिक दक्षताका विषयमा निर्देशनात्मक सम्बोधन गरेका थिए।

कार्यक्रममा सहभागी मधेस प्रदेश प्रहरी प्रमुख डिआईजी गोविन्द थपलियाका अनुसार एआईजी शाहले तालिम केन्द्रलाई अझ प्रभावकारी, व्यवहारिक र समयसापेक्ष बनाउनुपर्नेमा जोड दिएका थिए। साथै उनले मधेस प्रदेशको शान्ति–सुरक्षा अवस्थाप्रति विशेष चासो राख्दै आवश्यक सुधारका पक्षमा सुझावसमेत दिएका थिए।

यस प्रकारको निरीक्षणले प्रहरी तालिमको गुणस्तर वृद्धि गर्दै प्रदेशको समग्र सुरक्षा व्यवस्थापनलाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *