भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
टक्सार (भोजपुर)। मुलुकका एक सय पर्यटकीय गन्तव्यमा सूचीकृत भोजपुरको प्रसिद्ध पर्यटकीय क्षेत्र मुन्दुम पदमार्गलाई प्रवर्द्धन गर्दै प्रचारप्रसारमा सहयोग पुर्याउने उद्देश्यले ‘आठौँ संस्करण मनसुन ट्रेल रेस’ आयोजना गरिँदै छ।
आयोजक रिमाचुङ एजुकेशन एण्ड स्पोर्टस एकेडेमीका अध्यक्ष पावीहाङ राईले आज यहाँ पत्रकार सम्मेलन आयोजना गरी यही जेठ २५ गते चखेवामा ट्रेल रेस सञ्चालन हुन लागेको जानकारी दिए। उनका अनुसार १८ किलोमिटरको यो रेस पुरुष र महिला खुला तथा ४० वर्ष माथिका महिला र पुरुष (भेट्रान) हुने छ। उक्त विधामा महिला, पुरुष गरी ७५ जनाको सहभागिता हुनेछ।
मुन्दुम पदमार्गमा सबै याममा भ्रमण गर्न सकिन्छ भन्ने सन्देश दिनका लागि पनि मुन्दुम मनसुन ट्रेल रेस आयोजना गर्न लागिएको अध्यक्ष राईले बताए। रेस चखेवा, बेसक्याम्प, टेम्के, तावाभञ्ज्याङ हुँदै पाँचधासम्म सञ्चालन हुनेछ। यस्ता प्रतियोगिताले पदमार्गको पर्यटन प्रवर्द्धनसँगै साहसिक खेल पर्यटनलाई पनि थप टेवा पु¥याउने उहाँले विश्वास व्यक्त गरे।
खुला पुरुष तथा महिला दुवैतर्फ प्रथम हुनेले रु २५ हजार, द्वितीयले रु १५ हजार र तृतीयले रु १० हजार पुरस्कार प्राप्त गर्नेछन्। उक्त विधामा सात विजेतालाई नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ। चौथोलाई रु दुई हजार, पाँचौँलाई रु एक हजार ५००, छैँटौँलाई रु एक हजार र सातौँ हुनेलाई रु ५०० प्रदान गरिने अध्यक्ष राईले जानकारी दिए।
त्यस्तै भेट्रान पुरुष तथा महिलातर्फ प्रथम हुनेलाई रु १५ हजार, द्वितीयलाई रु १० हजार र तृतीयलाई रु पाँच हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा उत्कृष्ट तीन स्थान हासिल गर्ने खेलाडीलाई ट्रफीसहित नगद पुरस्कार प्रदान गरिने छ।
मुन्दुम पदमार्ग पूर्वी नेपालको चर्चित धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटन गन्तव्यका रूपमा चिनिएको छ। यस क्षेत्रमा ट्रेल रेसलगायत खेलकुद गतिविधि सञ्चालन हुँदै आएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment