एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे

डिसी नेपाल
२२ जेठ २०८३ २१:३४

काठमाडौं। नेपाल उद्योग परिसङ्घ (सिएनआई)का अध्यक्ष वीरेन्द्रराज पाण्डेले एक दशकभित्र मुलुकको अर्थतन्त्रको आकार सय अर्ब डलरको बनाउन सकिने बताएका छन्।

आज यहाँ आयोजित परिसङ्घको २३औँ वार्षिक साधारणसभामा अध्यक्ष पाण्डेले सन् २०३३ सम्ममा प्रचलित मूल्यमा र सन् २०३९ सम्ममा वास्तविक मूल्यमा मुलुकको अर्थतन्त्रको आकार सय अर्ब डलरको बनाउन सकिने अध्ययनले देखाएको बताए। परिसङ्घले लगानी बोर्डसँगको सहकार्यमा उक्त अध्ययन गरेको थियो।

“बीसभन्दा बढी विज्ञले करिब आठ महिनासम्म गरेको अध्ययनअनुसार उक्त लक्ष्य हासिल गर्न वार्षिक औसत ६ प्रतिशत आर्थिक वृद्धि आवश्यक देखिन्छ। सरकारले सात प्रतिशत वृद्धिको लक्ष्य राखेको छ भने हाम्रो अध्ययनले दीर्घकालीन रूपमा छ प्रतिशत वृद्धि कायम राख्न सके लक्ष्य हासिल सम्भव रहेको देखाएको छ।”

उक्त लक्ष्यलाई अघि बढाउन परिसङ्घले ऊर्जा, उत्पादन, पर्यटन, आइसिटी, कृषि, पूर्वाधार र संस्थागत सुधारसम्बन्धी १०० वटा सम्भावित उपाय प्रस्ताव गरेको उनको भनाइ छ। उनले अध्ययनका क्रममा पूर्वाधार, ऊर्जा, सूचना प्रविधि, उत्पादनमूलक उद्योग, पर्यटन, कृषि, खानी तथा खनिज, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखी गरिएको बाताए। अध्ययनमा सन् २०२५ लाई आधार वर्ष मानी सन् २०३० सम्म सुधारका प्रभावहरू विश्लेषण गरिएको उनको भनाइ छ।

“अध्ययनमा निजी क्षेत्रको भूमिका, लगानी, रोजगारी सृजना र आर्थिक गतिविधि विस्तारमा केन्द्रित गरिएको थियो, उक्त लक्ष्य हासिल गर्न सरकारबाट लगानीमैत्री नीति तथा विकास साझेदारबाट ज्ञान, वित्तपोषण र प्रविधिको सहयोग आवश्यक छ”, उनले भने।

गरिबी न्यूनीकरण, विद्युत् पहुँच विस्तार, जलविद्युत् सम्भावना, युवा जनशक्ति, उद्यमशीलता, पर्यटन, रणनीतिक भौगोलिक अवस्थिति र डिजिटल क्षमताजस्ता आधारहरूले यो अभियानलाई बलियो बनाएको उनले उल्लेख गरे।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *