आठ विश्वविद्यालयको उपकुलपति चयनका लागि ‘सर्टलिस्ट’ सार्वजनिक
काठमाडौं । मुलुकका विभिन्न आठवटा विश्वविद्यालयमा रिक्त उपकुलपति पद नियुक्तिका लागि प्राप्त आवेदनहरूमध्ये योग्य उम्मेदवारहरूको अल्पसूची (सर्टलिस्ट) सार्वजनिक गरिएको छ।
उपकुलपति पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिको आज बसेको बैठकले उक्त नामावली सार्वजनिक गर्ने निर्णय गरेको हो। सरकारले पहिलो पटक ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ बमोजिम एकीकृत प्रक्रियामार्फत उपकुलपति नियुक्ति प्रक्रिया अघि बढाएको हो।
विज्ञहरूले दिएको अङ्कका आधारमा तयार पारिएको सर्टलिस्ट अनुसार लुम्बिनी बौद्ध विश्वविद्यालय बाहेकका अन्य सात विश्वविद्यालयमा समान १०–१० जना र लुम्बिनी बौद्ध विश्वविद्यालयमा ७ जना उम्मेदवारहरू छानिएका छन्। जस अनुसार त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा समान १० जना प्रतिस्पर्धी सर्टलिस्टमा परेका छन् भने लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि ७ जनाको नाम सार्वजनिक भएको छ।
छनोट समितिले सर्टलिस्टमा परेका उम्मेदवारहरूका सम्बन्धमा आगामी २०८३ जेठ २५ गतेभित्र राय सुझाव दिन सरोकारवाला र आम नागरिकलाई आह्वान गरेको छ। प्राप्त सुझाव र मूल्याङ्कनका आधारमा उपकुलपति नियुक्तिको अन्तिम सिफारिस प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ।
गत वैशाख २४ गते रिक्त उपकुलपति पदका लागि दरखास्त आह्वान गरिएकोमा कुल २१८ वटा आवेदन परेका थिए। विश्वविद्यालयका कुलपति बालेन शाहले उपकुलपतिको नाम सिफारिस गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा सिफारिस समिति गठन गर्नुभएको थियो।
उक्त समितिले विज्ञहरूको नेतृत्वमा उपसमिति गठन गरी प्राप्त आवेदनहरूको प्रारम्भिक परीक्षण गरेको थियो। जेठ १३ गते बसेको समितिको बैठकले योग्य आवेदकहरूको दरखास्त स्वीकृत गर्दै विज्ञले दिएको नम्बरको आधारमा यो सर्टलिस्ट तयार पारेको हो।
नयाँ कार्यविधिअनुसार नियुक्ति प्रक्रियामा पारदर्शिता, योग्यता प्रणाली (मेरिटोक्रेसी) र प्रक्रियागत निष्पक्षता सुनिश्चित गर्न विज्ञ समितिमार्फत प्रारम्भिक छनोट गर्ने व्यवस्था मिलाइएको मन्त्रालयले उल्लेख गरेको छ।







डिसी नेपाल







Facebook Comment