रसुवामा ‘लाङटाङ ट्रेल रन’ प्रतियोगिता

डिसी नेपाल
२३ जेठ २०८३ २०:४६

रसुवा। हिमाली क्षेत्रको पर्यटन प्रवर्द्धन तथा लाङटाङ क्षेत्रको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने उद्देश्यले रसुवामा ‘लाङटाङ ट्रेल रन’ प्रतियोगिता सुरु गरिएको छ।

रसुवा–नुवाकोट पर्यटन समाजको आयोजनामा भएको प्रतियोगिताको आज लाङटाङको क्याङ्जेनमा उद्‌घाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लाङ्टाङ क्षेत्रको पर्यटन विकासका लागि पदमार्ग तथा पूर्वाधार सुधार आवश्यक रहेको बताए। उनले हिमाल र हिमाली वातावरण संरक्षण, जलवायु परिवर्तनका चुनौतीबीच हिउँ र हिमाली सम्पदाको संरक्षणमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा राखे।

मुख्यमन्त्री बानियाँले स्थानीय हावापानी अनुकूल कृषि उत्पादन वृद्धि गरी पर्यटकलाई स्वस्थ तथा सन्तुलित भोजन उपलब्ध गराउन सके पर्यटन क्षेत्र थप आकर्षक बन्ने बताए।

समुद्र सतहबाट करिब तीन हजार ८७० मिटर उचाइमा रहेको क्याङ्जेनमा आयोजित प्रतियोगितामा सहभागी खेलाडीले क्याङ्जेनदेखि स्याफ्रुबेँसीसम्मको ३२ किलोमिटर दूरी पार गर्नुपर्नेछ। प्रतियोगितामा दुई विदेशी महिलासहित एक सय तीन खेलाडी सहभागी भएको आयोजकले जनाएको छ।

बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ, आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङ तथा पर्यटन सचिव दीपेन्द्र सुवेदीलगायतको सहभागिता रहेको थियो।

पर्यटनमन्त्री श्रेष्ठले लाङटाङ क्षेत्रको प्राकृतिक सौन्दर्य, हिमाली संस्कृति र जैविक विविधतालाई विश्वसामु चिनाउन सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताए। उनले लाङटाङ पदमार्गलाई नेपालको प्रमुख पर्यटन गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित वातावरण संरक्षण, सरसफाइ र गुणस्तरीय सेवा प्रवाहमा जोड दिए।

आर्थिक मामिलामन्त्री तामाङले स्थानीय समुदाय, पर्यटन व्यवसायी र सरोकार भएका निकायबीच सद्भाव र सहकार्यले मात्र हिमाली पर्यटनको दिगो विकास सम्भव हुने बताए। उनले लाङ्टाङ भ्रमणमा आउने पर्यटकलाई आत्मियतापूर्वक सेवा प्रदान गरी नेपालको सकारात्मक छवि निर्माण गर्न आग्रह गरे।

खेल, पर्यटन र वातावरण संरक्षणलाई एकै सूत्रमा जोड्ने उद्देश्यले आयोजना गरिएको ट्रेल रनले हिमाली क्षेत्रको प्रचारप्रसारमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको ट्रेकिङ एसोसियसन अफ नेपाल (टान) का पूर्वअध्यक्ष दीपक महतले बताए।

रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेका अनुसार यस्ता कार्यक्रमले लाङटाङ क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन बजारमा स्थापित गर्न थप मद्दत पुग्नेछ।

यहाँ आयोजित साहसिक दौड प्रतियोगिता केवल खेलकुद गतिविधि मात्र नभई लाङटाङको प्राकृतिक सौन्दर्य, संस्कृति र पर्यटन सम्भावनालाई विश्वसामु चिनाउने प्रभावकारी माध्यमका रूपमा हेरिएको गोसाइँकुण्ड गाउँपालिका–४ का वडाध्यक्ष ढिण्डुप तामाङको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *