गुटबन्दीको चक्रव्यूहमा कांग्रेस: के गगन थापाले जोगाउलान् त डुब्न लागेको डुंगा?
काठमाडौं । नेपाली कांग्रेस यतिबेला इतिहासकै गम्भीर सांगठनिक र राजनीतिक संकटबाट गुज्रिरहेको छ। पार्टीभित्र चुलिँदै गएको आन्तरिक कलह, गुटबन्दी र नेतृत्वको शक्ति संघर्षले कांग्रेसलाई रक्षात्मक अवस्थामा पुर्याएको मात्र छैन, यसको भविष्यमाथि नै गम्भीर प्रश्नचिह्न खडा गरिदिएको छ।
गत पुस महिनामा सम्पन्न विशेष महाधिवेशनबाट महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा नयाँ कार्यसमिति चयन भएसँगै कांग्रेसमा ठूलो उत्साह देखिएको थियो।
युवा नेता गगन थापाले पार्टीको सर्वोच्च कमाण्ड सम्हालेपछि कांग्रेस आधुनिक र प्रविधिमैत्री बन्ने आशा आम कार्यकर्तामा पलाएको थियो। तर, नेतृत्वमा आएको केही महिनामै थापा आफ्नै पार्टीभित्रका पुराना र शक्तिशाली गुटहरूको चक्रव्यूहमा फसेका छन्, जसका कारण पार्टी रूपान्तरणको अभियान सुस्त बनेको छ।
विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति त चयन गर्यो, तर यसले पार्टीभित्रको आन्तरिक कलह र गुटबन्दीलाई झन् सतहमा ल्याइदियो। महाधिवेशनबाट पाखा पारिएका तत्कालीन सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला पक्षका नेताहरू आम निर्वाचनमा खासै सक्रिय भएनन्, जसको सिधा असर चुनावको परिणाममा पनि देखियो।
अहिले कांग्रेसभित्र संस्थापन अर्थात् गगन थापा पक्ष र निवर्तमान नेतृत्व अर्थात् देउवा-कोइराला पक्षबीच पार्टीको स्वामित्व र सञ्चालनलाई लेकर तीव्र टकराव छ। सभापति थापाले पार्टीलाई एकताबद्ध बनाउन र विधिको जगमा हिँडाउन ८ बुँदे प्रस्ताव अघि सारेका छन् भने अर्कातर्फबाट निवर्तमान संस्थापन पक्षका नेता पूर्णबहादुर खड्काले ६ बुँदे जवाफ फर्काएर संस्थापनको कार्यशैली र अधिकार क्षेत्रलाई नै चुनौती दिएका छन्।
केन्द्रीय समितिमा मनोनयन, क्रियाशील सदस्यताको विवाद, र नेता पूर्णबहादुर खड्कामाथि सोधिएको स्पष्टीकरणका कारण दुवै पक्ष अहिले मुखले एकताको माला जप्दै भित्रभित्रै शक्ति संघर्ष बढाउन तल्लीन छन्।
यो आन्तरिक खिचातानीको सबैभन्दा ठूलो र घातक असर पार्टीको मेरूदण्ड मानिने क्रियाशील सदस्यतामा देखिएको छ। कांग्रेसको १४ औँ महाधिवेशनमा ८ लाख ७० हजारभन्दा बढी क्रियाशील सदस्य रहेका थिए।
तर, आगामी १५औँ महाधिवेशनलाई लक्षित गरी गरिएको पछिल्लो सदस्यता अद्यावधिक र नवीकरणको अन्तिम समयसीमा जेठ २१ गते मध्यरातसम्म आइपुग्दा उक्त संख्या लगभग ५० प्रतिशतले घटेर करिब ४ लाखको हाराहारीमा मात्र सीमित हुन पुगेको छ।
यो संगठनात्मक गिरावट कांग्रेसका लागि ठूलो धक्का हो। सदस्यता यसरी आधा घट्नुका पछाडि मुख्य रूपमा गगन थापा नेतृत्वले ल्याएको नयाँ नीति र पुराना गुटहरूको असहयोग जिम्मेवार छन्।
थापाले पार्टीलाई आधुनिक बनाउन पुराना र नयाँ सबै क्रियाशील सदस्यहरूले अनिवार्य रूपमा ‘डिजिटल्ली अद्यावधिक’ गर्नुपर्ने नियम ल्याएका थिए। तर, देउवा–कोइराला समूहले यसअघि नै सदस्यता नवीकरण टुङ्गिइसकेको भन्दै यो नयाँ डिजिटल अद्यावधिक प्रक्रिया आवश्यक नरहेको अडान लियो।
शीर्ष नेतृत्वको यही असमझदारी र निर्देशनका कारण देउवा पक्षधर अधिकांश नेताकार्यकर्ताले डिजिटल माध्यमबाट आफ्नो सदस्यता अद्यावधिक नै गरेनन्, जसले गर्दा लाखौँ पुराना कार्यकर्ता सूचीबाट बाहिरिए।
सदस्यता घट्नुको अर्को कानुनी र व्यावहारिक कारण पनि छ। सरकारले सरकारी सेवामा रहेका निजामती कर्मचारी र सरकारी विद्यालयका शिक्षकहरूले कुनै पनि राजनीतिक दलको सदस्यता लिन वा दलगत राजनीतिमा भाग लिन नपाउने कानुनी व्यवस्थामा कडाइ गरेपछि कांग्रेसलाई ठूलो घाटा लाग्यो।
यसअघिको महाधिवेशनमा कांग्रेसभित्र करिब २ लाखको संख्यामा सरकारी कर्मचारी, प्राध्यापक तथा शिक्षकहरू क्रियाशील सदस्यका रूपमा आबद्ध थिए। कानुनी कारबाहीको डरका कारण यसपटक ती बौद्धिक र पेसागत सदस्यहरूले आफ्नो सदस्यता नवीकरण गरेनन्।
यसबाहेक, देशका डेढ दर्जनभन्दा बढी जिल्ला र स्थानीय वडाहरूमा क्रियाशील सदस्यतालाई लिएर पुराना र नयाँ नेताहरूबीच गम्भीर लफडा कायमै छ। मधेश प्रदेशका अधिकांश जिल्ला, बागमतीका रामेछाप, सिन्धुपाल्चोक, र कर्णालीमा पूर्णबहादुर खड्का र हृदयराम थानी पक्षबीचको पुरानो विवाद अझै सुल्झिएको छैन।
जिल्लास्तरमा एक गुटले अर्को गुटलाई निषेध गर्ने र फारम नै तल्लो तहसम्म नपुर्याउने परिपाटीका कारण हजारौँ इमानदार कार्यकर्ताहरू सदस्यता नवीकरण प्रक्रियाबाट बाहिरै रहन बाध्य भए। गाउँ–गाउँमा रहेका पुराना, ज्येष्ठ र प्रविधिसँग अभ्यस्त नभएका आम कार्यकर्ताका लागि यो अनलाइन डिजिटल प्रणाली झन्झटिलो र कठिन सावित हुनु पनि सदस्यता घट्नुको अर्को कारण बन्यो।
यो समग्र परिस्थितिले ‘के गगन थापाले कांग्रेस चलाउन नसक्ने नै हुन् त?’ भन्ने गम्भीर प्रश्न राजनीतिक बजारमा उठाएको छ। गगन थापा विचार, एजेन्डा र आम सञ्चारमा निकै अब्बल नेता हुन्।
उनी प्रतिपक्षमा रहँदा वा आन्दोलनको नेतृत्व गर्दा जति प्रभावकारी देखिन्छन्, सत्ता र संगठनको आन्तरिक व्यवस्थापन तथा संकट निवारणमा उनी त्यति नै अलमलिएको विश्लेषकहरूको बुझाइ छ। कांग्रेसजस्तो देशकै सबैभन्दा पुरानो र विशाल संस्था चलाउन केवल एजेन्डा र भाषण मात्र पर्याप्त हुँदैन, भुइँतहका कार्यकर्ता र पुराना नेताहरूलाई मिलाएर लैजाने सांगठनिक कला र समन्वय आवश्यक पर्छ।
केन्द्रीय समिति, संसदीय दल र जिल्ला तहसम्मै देउवा-कोइराला पक्षको बलियो पकड भएकाले थापाले चाहेर पनि स्वतन्त्र रूपमा निर्णय लिन सकिरहेका छैनन्। पुराना नेताहरूलाई विश्वासमा लिन नसक्नु र गुटगत विवादलाई सुल्झाउनुको साटो विवाद अझै तन्किँदै जानुले उनको व्यवस्थापकीय क्षमतामा कमजोरी रहेको संकेत गर्छ।
अहिले गगन थापामाथि समयको ठूलो दबाब छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौँका प्रधानमन्त्री बालेन्द्र शाह र नयाँ पुस्ताको लहरले कांग्रेसको परम्परागत भोट बैंकलाई तीव्र रूपमा काटिरहेको छ। पुराना दलहरूको परम्परागत कार्यशैली र आन्तरिक गुटबन्दीप्रति युवा पुस्तामा चरम निराशा व्याप्त छ।
यस्तो अवस्थामा गगन थापाले पार्टीभित्रको आन्तरिक कलह मिलाउनै आफ्नो ऊर्जा खर्च गरिरहँदा बाहिरी राजनीतिक मैदानमा कांग्रेस दिनप्रतिदिन कमजोर बन्दै गएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार कांग्रेस ‘सकिने दिशामा’ गइसकेको भन्नु हतारो हुनेछ, किनकि यो पार्टी अहिले रूपान्तरणको गम्भीर प्रसव वेदनाबाट गुज्रिरहेको छ। कांग्रेससँग देशैभरि बलियो र पुरानो संगठनात्मक संरचना र ग्रासरुट नेटवर्क अझै कायमै छ।
पार्टी जोगिने वा ओरालो लाग्ने भन्ने कुरा अब पूर्ण रूपमा वर्तमान सभापति गगन थापाको कूटनीतिक र समन्वयकारी भूमिकामा निर्भर गर्दछ।
पूर्णबहादुर खड्का र विश्वप्रकाश शर्मा लगायतका मध्यमार्गी नेताहरूसँग मिलेर यदि उनले ८ बुँदे र ६ बुँदे प्रस्तावको असमझदारी हटाउन सके, डिजिटल प्रणालीलाई थप व्यावहारिक र समावेशी बनाउन सके र पुराना नेताहरूलाई निषेध गर्नुको साटो उनीहरूको अनुभवलाई आत्मसात गर्दै सँगै लैजान सके भने कांग्रेसले नयाँ जीवन पाउन सक्छ। अन्यथा, संगठनको आन्तरिक व्यवस्थापन गर्न नसकेकै कारण पार्टी अझै छिन्नभिन्न हुने र आगामी निर्वाचनहरूमा कांग्रेस ठूलो दुर्घटनामा पर्ने खतरा स्पष्ट देखिएको छ।







डिसी नेपाल







Facebook Comment