इरान-इजरायल तनाव : इरानसँगको सम्भावित सम्झौता इजरायलले स्वीकार गर्नुपर्ने ट्रम्पको दाबी
वाशिंटन। मध्यपूर्वमा इरान र इजरायलबीचको सैन्य तनाव पुनः उत्कर्षमा पुगेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिका र इरानबीच हुन सक्ने कुनै पनि सम्भावित सम्झौतालाई स्वीकार गर्नुपर्ने बताएका छन्।
अप्रिलमा भएको युद्धविरामपछि इरानले पहिलोपटक इजरायलमाथि ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको केही घण्टाभित्रै राष्ट्रपति ट्रम्पको यस्तो कडा राजनीतिक अभिव्यक्ति सार्वजनिक भएको हो।
फाइनान्सियल टाइम्ससँगको एक टेलिफोन अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले इरानसँगको अमेरिकी नीति अन्तिम रूपमा वासिङ्टनले नै निर्धारण गर्ने स्पष्ट संकेत दिएका छन्।
उनले इजरायलको निर्णय प्रक्रियामा अमेरिकाकै निर्णायक भूमिका रहने दाबी गर्दै प्रधानमन्त्री नेतान्याहुसँग अमेरिकाले गरेको सम्झौता स्वीकार गर्नुबाहेक अर्को विकल्प नरहने उल्लेख गरे।
हालै भएको आक्रमणका बाबजुद इरानसँगको कूटनीतिक संवाद जारी रहने र सम्झौताका ढोकाहरू खुला रहने प्रष्ट पार्दै ट्रम्पले वार्तामा हुने कुनै पनि प्रगतिमा यस घटनाले असर नपार्ने दाबी गरेका छन्।
यसअघि, इरानले सोमबार इजरायलतर्फ ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि मध्यपूर्वको सुरक्षा अवस्था थप जटिल मोडमा पुगेको छ। यस हवाई आक्रमणलाई अप्रिलको युद्धविरामपछिको पहिलो प्रत्यक्ष र सबैभन्दा गम्भीर उल्लंघन मानिएको छ।
आक्रमणलगत्तै इजरायली रक्षा बल (आइडीएफ) र इजरायली वायु सेना (आइएएफ) ले इरानबाट प्रहार गरिएका क्षेप्यास्त्रहरू पहिचान गरी आफ्ना अत्याधुनिक प्रतिरक्षा प्रणालीहरू सक्रिय बनाएका थिए।
देशका विभिन्न भागमा साइरन बजाइएसँगै मोबाइल फोनमार्फत प्रभावित क्षेत्रका नागरिकहरूलाई अर्को सूचना नआएसम्मका लागि तत्काल सुरक्षित स्थानमा जान निर्देशन दिइएको थियो।
हालसम्मको विवरणअनुसार यस आक्रमणबाट कुनै मानवीय क्षति वा ठूलो भौतिक क्षतिको विवरण सार्वजनिक नभए पनि केही स्थानमा क्षेप्यास्त्रका अवशेष खस्दा सामान्य क्षति भएको आशंका गरिएको छ।
यसैबीच, अमेरिकी सञ्चारमाध्यम एक्सियोसले एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतान्याहुबीच आइतबार राति नै टेलिफोन वार्ता भएको खुलासा गरेको छ।
उक्त संवादमा ट्रम्पले इरानको आक्रमणको बदलामा इजरायललाई तत्काल कुनै पनि जवाफी कारबाही नगर्न आग्रह गरेको बताइएको छ। यो तनाव हुनुपूर्व आइतबार नै इजरायलले लेबनानको राजधानी बेरुतस्थित दहियाह क्षेत्रमा रहेको हिज्बुल्लाहको मुख्यालयलाई लक्षित गरी शक्तिशाली हवाई आक्रमण गरेको थियो, जसलाई हिज्बुल्लाहले आफ्नो क्षेत्रबाट इजरायलतर्फ गरेको गोली प्रहारको जवाफी कारबाही भनिएको छ।
इरानको पछिल्लो क्षेप्यास्त्र प्रहार र त्यसपछि ट्रम्पले चालेको राजनीतिक कदमले वासिङ्टनलाई एकातिर इरानसँग सम्भावित सम्झौता अघि बढाउने र अर्कोतिर आफ्नाे प्रमुख सहयोगी इजरायलसँगको रणनीतिक समन्वयलाई सन्तुलित राख्नुपर्ने दोहोरो दबाब सिर्जना गरिदिएको छ।







डिसी नेपाल







Facebook Comment