हवाई इन्धनको मूल्य ७८ प्रतिशतले बढ्दा हवाई क्षेत्रमा मन्दी, प्रति यात्रु नाफा आधा घट्ने

डिसी नेपाल
२६ जेठ २०८३ १४:३९

काठमाडौं। मध्यपूर्वमा बढ्दै गएको सैन्य द्वन्द्व र तनावका कारण अन्तर्राष्ट्रिय बजारमा हवाई इन्धनको मूल्य अत्यधिक बढेपछि विश्वभरको हवाई उड्डयन क्षेत्र गम्भीर आर्थिक संकटतर्फ धकेलिएको छ।

अमेरिकी ब्युरो अफ ट्रान्सपोर्टेसन स्ट्याटिस्टिक्स (विटिएस) का अनुसार पछिल्लो एक सय दिनमा मध्यपूर्वको द्वन्द्व चरम सीमामा पुगेका कारण अमेरिकी एयरलाइन्सहरूले मात्रै अप्रिल महिनामा इन्धनका लागि झन्डै ६ अर्ब ५० करोड अमेरिकी डलर अतिरिक्त भुक्तानी गर्नुपरेको छ।

इन्धनको यो लागत जुन महिनामा २६ प्रतिशतभन्दा बढी र गत वर्षको तुलनामा ७८ प्रतिशतले वृद्धि भएको हो।

इन्धनको मूल्यमा आएको यो अप्रत्याशित उछालका कारण विश्वभरका एयरलाइन्सहरूको नाफामा भारी गिरावट आउने निश्चित भएको छ।

इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आइएटिए) ले जारी गरेको पछिल्लो प्रतिवेदनअनुसार यस वर्ष एयरलाइन्सहरूले कुल २३ अर्ब डलर मात्र शुद्ध नाफा आर्जन गर्ने अपेक्षा गरिएको छ, जुन यसअघि गरिएको प्रक्षेपणभन्दा १८ अर्ब डलरले कम हो।

अमेरिका लगायत विश्वभरका ३७० भन्दा बढी वायुसेवा कम्पनीहरूको प्रतिनिधित्व गर्ने आइएटिएले प्रति यात्रु खुद नाफामा समेत ठूलो गिरावट आउने प्रक्षेपण गरेको छ। प्रतिवेदनअनुसार सन् २०२५ मा प्रति यात्रु शुद्ध नाफा ९.१० डलर रहेकोमा तीव्र रूपमा घटेर यस वर्ष प्रति यात्रु ४.५० डलरमा झर्ने अनुमान गरिएको छ।

आइएटिएका महानिर्देशक विली वाल्सले मध्यपूर्वको द्वन्द्व र तीव्र गतिमा बढिरहेको इन्धनको लागतले समग्र एयरलाइन्स क्षेत्रको व्यावसायिक भविष्य र दृष्टिकोणलाई अझ बढी जोखिमपूर्ण र खराब बनाएको उल्लेख गर्नुभएको छ।

हवाई इन्धनको यो उच्च लागत र आर्थिक भार थाम्न नसक्दा अमेरिकी बजेट एयरलाइन्स कम्पनी ‘स्पिरिट एयरलाइन्स’ ले मे महिनाको सुरुमै आफ्नो सम्पूर्ण सेवा र सञ्चालन पूर्ण रूपमा बन्द गर्नुपरेको छ।

विज्ञहरूका अनुसार इन्धनको मूल्य यसरी नै बढिरहे आगामी दिनमा अन्य साना तथा कम लागतका एयरलाइन्सहरू समेत बन्द हुने अवस्थामा पुग्न सक्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *